प्रतिनिधिसभाको दोस्रो अधिवेशनको अन्त्य
काठमाडौं । प्रतिनिधिसभाको दोस्रो अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै बिहीबार रातिदेखि संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन अन्त्य हुने घोषणा गरेका हुन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । दोस्रो अधिवेशनअन्तर्गत २०७५ वैशाख २३ गते आइतबार पहिलो बैठक बसेको प्रतिनधिसभा बैठक असोज ११ गतेसम्म गरी १ सय ३५ दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ ।
यो अवधिमा संसदको ६९ दिनमा ७९ पटक बैठक बसेको थियो । यो अधिवेशनले चालु आर्थिक २०७५÷७६ को सरकारको नीति तथा कार्यक्रम पास गर्नुको साथै कर प्रस्तावबाहेक विनियोजन विधेयकमाथि छलफल गरि सर्वसम्मत पास गरेको थियो । यो अधिवेशनमा विभिन्न २६ वटा सरकारी विधेयक दर्ता भएकोमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ सम्बन्धित मन्त्रालयमा फिर्ता भएको छ ।
दर्ता भएका विधेयकमध्ये १८ वटा विधेय संघीय संसद्का दुवै सदनबाट पास भइसकेका छन् । त्यसैगरी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने राहदानी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा सन्देश पठाइएको छ । प्रतिनिधिसभाले यो अधिवेशनमा महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव सर्वसम्मति पास गरेको थियो ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशन