मुख्य समाचार राजनीति

राजनीतिक परिवर्तन मौलिक उदाहरण : प्रधानमन्त्री ओली

राजनीतिक परिवर्तन मौलिक उदाहरण : प्रधानमन्त्री ओली

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् । 

 

संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३ औँ महाअधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका प्रधानमन्त्री ओेलीले सम्बोधनका क्रममा नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका विभिन्न भागमा शान्तिको कामना गर्ने धेरै व्यक्तिलाई अभिप्रेरक कथा बन्नसक्ने भएकाले नेपालले यो अनुभव र अन्तर्दृष्टि अन्य पक्षसँग साझेदारी गर्न चाहेको बताए । 

 

प्रधानमन्त्री ओलीले यसअघि सन् २००६ मा यस मञ्चबाट सम्बोधन गर्दा नेपाल ऐतिहासिक राजनीतिक सङ्क्रमणमा रहेको उल्लेख गर्दै वार्ता तथा छलफलका माध्यमबाट नेपालीले मुलुकमै बनेको, नेतृत्व दिइएको आफ्नै शान्ति प्रक्रियामा मौलिक रुपमा सफलता हासिल गरेको उल्लेख गरे । 

 

प्रधानमन्त्री ओलीले निर्वाचनले बलियो सरकार दिएको, आफूले नेतृत्व गरेको सरकारसँग संसदमा तीन चौथाई समर्थन प्राप्त भएको र प्रान्तका सरकारहरुले पनि बलियो बहुमतको समर्थन प्राप्त गरेको उल्लेख गर्नुभयो । उहाँले नेपाली शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय समुदायले दिएको सहयोगका लागि कृतज्ञता प्रकट गरे । 

 

प्रधानमन्त्री ओलीले नेपालको विदेश नीतिले सबैसँग मैत्री भावना कायम राख्ने र कसैसँग शत्रुता नराख्ने बताए । साथै उनले क्षेत्रीय सहयोगको प्राथमिकता अनुसार नेपालले हालै बिमस्टेकको चौँथो शिखर बैठक आयोजना गरेको र सार्कलाई महत्वपूर्ण क्षेत्रीय सङ्गठनको रुपमा पुनः सबल भएको देख्न चाहेको बताए । 

 

प्रधानमन्त्री ओलीले वर्तमान विश्व विनाश तथा बचनबद्धताको मौलिक विरोधाभाषसँगै महत्वपूर्ण संघारमा उभिएको र गरिबी, आतंकवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, बलपूर्वक विस्थापन तथा प्राकृतिक प्रकोपदेखि हतियारको प्रतिस्पर्धासम्मका चुनौतीहरु विश्वसमुदायले भोगिरहेका उल्लेख गरे । उनले सभाध्यक्षले यसै साता सभालाई सम्बोधन गर्दा रेखाङ्कित गरेको सातवटा प्राथमिकताका क्षेत्रलाई नेपालले समर्थन गर्ने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घ

विशेष