प्रदेश ७

कर सङ्कलनमा आन्तरिक राजश्व कार्यालय कञ्चनपुर उत्कृष्ट

कर सङ्कलनमा आन्तरिक राजश्व कार्यालय कञ्चनपुर उत्कृष्ट

कञ्चनपुर । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलनका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ । आव २०७४÷७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको सूचकाङ्कमा उत्कृष्ट कार्यसम्पादन गरेकाले अन्तर राजश्व कार्यालयतर्फ सो कार्यालय देशमै प्रथम भएको छ । 

 

कार्यालय अन्तर्गत बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका करदाता, उद्योग वाणिज्य सङ्घ, व्यवसायी र कर कार्यालयका कर्मचारीको मेहनतले कार्यालय देशमै उत्कृष्ट भएको प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताए । 

 

 

एक अर्ब १९ करोड ३१ लाख पाँच हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य पाएको उक्त कार्यालयले  एक अर्ब ४७ करोड ९२ लाख २० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । आयकरतर्फ ५७ करोड १० लाख २० हजार रुपैयाँ, बहाल करतर्फ चार करोड ५० लाख एक हजार रुपैयाँ, व्याजतर्फ दुई करोड २८ लाख ३४ हजार र मूल्य अभिवृद्धि करतर्फ ४३ करोड ४६ लाख ५७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

 

 

कार्यालयले अन्तःशुल्कतर्फ ३९ करोड ८६ लाख ४८ हजार, स्वास्थ्य सेवातर्फ आठ लाख २५ हजार र शिक्षातर्फ ६२ लाख ६२ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरअन्तर्गत करदाताको सङ्ख्या ४१ हजार ४७९ रहेको छ । 

 

 

गैरनेपाली व्यवसायीले राजश्व छली गर्ने समस्या विद्यमान रहेको पाइएपछि प्रहरीको सहयोग लिइ कारबाही गरिएको कर अधिकृत शर्माले बताए ।  दायरामा नआएका ठूलादेखि साना व्यवसायीलाई करको दायरामा ल्याइने उनको भनाइ छ ।

 

कार्यालयले करको दायरामा आउनेलाई शुल्क तथा व्याज मिनाहा गर्ने भएको छ । पुस मसान्तसम्म स्थायी लेखा नं लिई आव २०७१÷७२ देखि आव २०७३÷७४ सम्मको आय विवरण तथा त्यसमा लाग्ने कर बुझाएमा कर, शुल्क तथा व्याज मिनाहा गर्ने व्यवस्था छ । 

कञ्चनपुर कर आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर

विशेष