देश राजनीति

मन्त्री भ्रमणमा अढाई करोड खर्च, लालबाबुले बुझे सबैभन्दा धेरै भत्ता

मन्त्री भ्रमणमा अढाई करोड खर्च, लालबाबुले बुझे सबैभन्दा धेरै भत्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रीलाई झकझक्याइरहेका छन् । तर, १० महिने कार्यकालमा मन्त्रीहरूले जिल्ला भ्रमणमा गरेको खर्च केलाउँदा कसैले पनि निर्देशन पालना गरेको देखिन्न । 

 

यो सरकारका २५ मन्त्रीले जिल्ला र विदेश भ्रमणको खर्चमा अघिल्लो शेरबहादुर देउवा नेतृत्वको ‘जम्बो मन्त्रिपरिषद्’ लाई पनि उछिनेका छन् । २०७४ फागुन पहिलो सातादेखि मंसिरसम्म जिल्ला भ्रमणमा राज्यको ढुकुटीबाट करिब साढे २ करोड रुपैयाँ सिध्याइएको छ । देउवा सरकारका ६४ मन्त्रीले करिब १ वर्षमा २ करोड ८८ लाख रुपैयाँ खर्चिएका थिए ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसारयत्तिको रकम दैनिक भत्ता र हवाई टिकटमा मात्र खर्च भएको हो । मन्त्रीहरूले जिल्ला भ्रमण र अनुगमनमा जाँदा सम्बन्धित मन्त्रालय र मातहत कार्यालयबाट समेत रकम र इन्धन लिने गरेका छन् । प्रधानमन्त्री कार्यालयले मन्त्रीहरूलाई तलब, भत्ता र इन्धन उपलब्ध गराएपनि दोहोरो सुविधा लिइरहेका हुन् ।

 

‘खर्च कटौती गर्न प्रधानमन्त्रीज्यूले मितव्ययी बन्न भने पनि मन्त्रीहरूको पारा पहिलाको जस्तै छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘अघिल्लो सरकारका मन्त्रीले भन्दा अचाक्ली खर्च गरी बिल पेस गर्ने प्रवृत्ति बढेको छ, प्रधानमन्त्रीको शून्य सहनशीलता र सरकारलाई मितव्ययी बनाउने मक्सद पूरा भइरहेको छैन ।’ खर्च घटाउने प्रधानमन्त्रीको निर्देशनअनुसार कर्मचारीले पाउँदै आएका विभिन्न शीर्षकका भत्ता भने कटौती गरिएका छन् ।

 

मन्त्रीहरूले जिल्ला भ्रमण गर्दा एक दिनको ३ हजार रुपैयाँ भत्ता पाउँछन् । मन्त्रीसँगै भ्रमणमा रहने कर्मचारी (स्वकीय सचिव र अन्य सहयोगी) ले पनि भत्ता पाउने व्यवस्था छ । मन्त्रालयका कार्यक्रम अनुगमन र स्थलगत अध्ययन भन्दै हरेक साताजसो भ्रमणमा निस्कने मन्त्रीहरू अधिकांश आफ्नो निर्वाचन क्षेत्र र गृहजिल्ला पुगिरहेका हुन्छन् । मन्त्रीले विदेश भ्रमण गर्दा भने दैनिक २ सय ५० अमेरिकी डलर भत्ता पाउँछन् । युरोपेली मुलुकको भ्रमण गर्दा ३३ प्रतिशत थप गरिन्छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 


 

 

भत्ता लालबाबु पण्डित

विशेष