देश राजनीति

मोदी भ्रमणमा भएका सम्झौता अझै अपूरा  

मोदी भ्रमणमा भएका सम्झौता अझै अपूरा  

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाखको नेपाल भ्रमणका बेला दुवै मुलुकबीच पछिल्लो समय उच्च राजनीतिक तहमा भएका समझदारी र सम्झौतालाई ३ असोज २०७५ भित्र परिणाममुखी बनाउने सहमति भएको थियो । समझदारीलाई निश्चित समयसीमाभित्र ठोस निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिए पनि अधिकांश पूरा हुन सकेका छैनन् । मोदीको भ्रमणकै बेला हरेक महिना परराष्ट्र सचिवबीच भिडियो कन्फरेन्स गर्ने सहमतिसमेत भएको थियो ।

 

परराष्ट्र सचिव शंकर वैरागीले तोकिएको समयसीमा पालना नभए पनि भएका सहमति र समझदारी कार्यान्वयनमा लैजान दुवै पक्ष सकारात्मक ढंगले अगाडि बढिरहेको बताए । ‘चालु परियोजनाको समीक्षा गर्दै समयमा सम्पन्न गर्न दुवै पक्षबीच सकारात्मक छलफल जारी छ,’ उनले भने । समयसीमा गुज्रेको लामो समय बितिसक्दा केही विषयमा प्रगति भए पनि दुवै मुलुकबीच लामो समयदेखि कचल्टिएर रहेका अधिकांश विषयमा खासै प्रगति हुन सकेका छैनन् ।

 

कतिपय विषयमा त भारत पहिलेको सहमतिबाट समेत पछि हटेको छ । त्यसको पछिल्लो उदाहरण हो हवाई रुट । गत जेठमा काठमाडौंमा सम्पन्न नेपाल र भारतका नागरिक उड्डयन अधिकारीको बैठकले नेपाललाई थप हवाई रुट दिने सहमति भएको थियो । उक्त बैठकमा विराटनगर र जनकपुर नाकालाई अन्तर्राष्ट्रिय उडानका लागि दुईतर्फी बनाउन भारत सहमत भएको थियो । त्यसैगरी कम उचाइ उडान गर्ने जहाजका लागि काठमाडौं–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई पनि दुईतर्फी बनाउन उक्त बैठकमा सहमति भएको थियो ।

 

त्यसैगरी भैरहवा र पोखरामा निर्माणाधीन विमानस्थलका साथै निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपालगन्ज र महेन्द्रनगर प्रवेश विन्दुबाट समेत हवाई रुट खुला गर्न सेप्टेम्बर २०१८ भित्र प्राविधिक मूल्यांकन गरिसक्ने दुई देशका अधिकारीबीच समझदारी बनेको थियो । यो समझदारीले दुई देशबीच अन्तरदेशीय उडान सहज हुने अपेक्षा गरिएको थियो । तर, गत असोजमा दिल्लीमा बसेको दुई देशका अधिकारीको बैठकमा भारत पहिलेको सहमतिबाट पछि हटेको थियो । बैठकमा सहभागी नेपाली अधिकारीले भारतले सुरक्षाको कारण देखाएर हवाई रुट दिन नसक्ने जनाएको बताए ।

 

त्यसैगरी प्रतिबन्धित भारु नोट साट्ने विषयमा पनि भारत उदासीन रहँदै आएको छ । भारतले भारु पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाउन नोटबन्दी लागू गरेको दुई वर्ष बितिसक्दा पनि नेपालमा रहेको भारु साट्न भारतीय पक्षबाट कुनै ठोस पहल भएको छैन । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 
 

सम्झौता मोदी भ्रमण

विशेष