अचम्म ! १४ वर्षदेखि कोमामा रहेकी महिलाबाट जन्मियो बच्चा
अमेरिका १४ वर्षदेखि कोमामा रहेकी एक महिलाले हालै एउटा बच्चालाई जन्म दिएकी छन् । एरिजोनाको हेसिन्डा हेल्थकेयर सेन्टरको एक क्लिनिकमा करिब डेढ दशकअघि भर्ना भएकी ती महिलाले शिशुलाई जन्म दिएकी हुन्।
उक्त घटना बाहिरिएपछि उनीमाथि यौनशोषण भएको हुन सक्ने आशंकामा अमेरिकी प्रहरीले छानबिन सुरु गरेको छ । ती महिलाले गत २९ डिसेम्बरमा बच्चा जन्माएको अनुमान गरिएको छ। तर हेल्थकेयर सेन्टरले उक्त घटनालाई दबाउन अनेकन प्रयास गरेको पनि बताइएको छ। उक्त घटनालगत्तै हेल्थ केयर सेन्टरका प्रमुखले पदबाट राजीनामा दिएका छन्।
बच्चा जन्माउनु अगाडि ती महिला गर्भवति भएको भन्ने बारेमा हेल्थकेयर सेन्टरका कुनै पनि कर्मचारीले थाहा नपाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ती महिला कोमामा रहेकाले उनको निगरानी हरसमय हुने भएपनि उनी कसरी र कतिबेला गर्भवति भइन् भन्ने कुराले सबैलाई अचम्ममा पारेको छ। यस विषयमा फिनिक्स प्रहरीले छानबिनका क्रममा रहेकाले केही बोल्न नमिल्ने बताएको छ। फिनिक्स प्रहरी प्रवक्ता भन्छन्, 'घटनाको छानबिन चलिरहेको छ, अहिले नै सो घटनाबारेमा केही भन्न सक्ने अवस्था छैन।'