नेकपा पोलिटब्युरोः पूर्वमाओवादीद्वारा ५० प्रतिशत माग
काठमाडौं । नेकपाको पोलिटब्युरोमा पूर्वमाओवादीले ५० प्रतिशत दाबी गरेको छ । कार्यदल बैठकमा सम्मानजनक एकताका लागि भन्दै पूर्वमाओवादीले बराबरी हुनुपर्ने तर्क गरेको हो । ‘पोलिटब्युरोमा ५०-५० प्रतिशत भागबन्डा हुनुपर्ने दाबी गरेका छौँ’ पूर्वमाओवादीका एक नेताले भने, ‘तर, पूर्वएमालेले ६०-४० का आधारमा हुनुपर्ने अडान लिएको छ ।’
४४१ सदस्यीय केन्द्रीय समितिको एकतिहाई पोलिटब्युरोमा रहनेछन् । छलफल जारी रहेकाले सार्वजनिक गर्न नमिल्ने कार्यदल सदस्य वेदुराम भुसालले बताए । ‘कार्यदलभित्र बाहिर केही नबोल्ने आचारसंहिता बनाएका छौँ’ भुसालले भने, ‘सहमति भएपछि सबै थाहा पाइहाल्नुहुन्छ ।’
भूमिगत रूपमा कार्यदल बैठक
नेकपा कार्यदल बैठक भूमिगत रूपमा बस्दै आएको छ । अनौपचारिक रूपमा धेरै छलफल भए पनि औपचारिक रूपमा सातपटक बैठक बसेको कार्यदलका एक सदस्यले बताए । छलफलकै क्रममा विषयबाहिर आउने र सहमतिका लागि कठिन हुने भएकाले स्थान गोप्य राखिएको ती सदस्यको तर्क छ ।
माघ पहिलो सातासम्म प्रतिवेदन बुझाउने तयारी कार्यदलको छ । कार्यदलमा विष्णु पौडेल, रामबहादुर थापा, लेखराज भट्ट, वेदुराम भुसाल, योगेश भट्टराई, रघुवीर महासेठ, वर्षमान पुन, सुरेन्द्र पाण्डे र शंकर पोखरेल छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
नेकपा पोलिटब्युरो