राजनीति

देउवा पनि जोडिए वाइडबडी अनियमिततामा

देउवा पनि जोडिए वाइडबडी अनियमिततामा

काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडबडी  विमान खरिद अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएका छन् । २०७४ जेठ २४ मा देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय भएको थियो । त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद्को सार्वजनिक लेखा समितिलाई पठाएको विवरणमा २०७४ वैशाख २५ देखि चैत १ सम्म जितेन्द्रनारायण देव उड्डयनमन्त्री रहेको उल्लेख छ। यो विवरण गलत भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायो। कार्यलयको विवरणअनुसार देव २०७४ वैशाख २५ गते पर्यटनमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासँगै उनी जेठ २३ देखि पदमा रहेनन्। भोलिपल्ट जेठ २४ मा देउवाको नेतृत्वमा सरकार गठन भयो ।

 

तल्काललाई नागरिक उड्डयन मन्त्रालयको नेतृत्व पनि देउवाले नै गरे। देउवाको नेतृत्वमा पाँच दिनपछि मन्त्रालयका सचिव शंकर अधिकारीले पहिलो किस्ता भुक्तानीका लागि नेपाल राष्ट्र बैंकमा सटही सुविधाको चिठी लेखे । देवले भने दोस्रो पटक २०७४ साउन ११ गते मात्र मन्त्री नियुक्त भएका थिए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

विशेष