देश राजनीति

मन्त्री व्यस्त हुँदा नेकपा कार्यदललाई प्रतिवेदन बुझाउन ढिलाई

मन्त्री व्यस्त हुँदा नेकपा कार्यदललाई प्रतिवेदन बुझाउन ढिलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सम्पूर्ण साङ्गठनिक एकीकरण टुङ्गो लगाउन गठन गरेको कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउन थप समय लाग्ने भएको छ । पुस मसान्तभित्र सम्पूर्ण साङ्गठनिक एकीकरणको टुङ्गो लगाउन गृहकार्य गरी प्रस्ताव पेस गर्न पुस १३ गते सकिएको स्थायी कमिटीको बैठकले निर्देशन दिएको थियो । तर, हालसम्म मापदण्ड तयार गरी पार्टीको विधानमा मात्र छलफल सकिएको छ ।

 

नौ सदस्य कार्यदलमा चारजना मन्त्री नै रहेको हुनाले उनीहरूकोे कार्य व्यस्तताका कारण नियमित बैठक समेत बस्न सकिरहेको छैन । कार्यदलका संयोजकमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री हुनुहुन्छ । बाँकी सदस्य पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् । 

 

कार्यदलका सदस्य पाण्डले भने, ‘समयमै प्रतिवेदन तयार गरेर पार्टीलाई बुझाउन खोजेका थियौं तर यो पुसमसान्तभित्र नभ्याउँला जस्तो छ । सदस्यहरूको कार्यव्यस्तताका कारण नियमित बैठक पनि बस्न सकिरहेको छैन ।’’ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १६ गते कार्यदलका सदस्यहरुलाई बोलाएर कामको प्रगतिको बारेमा जानकारी लिएका थिए ।  साथै, उनीहरुले १० दिनभित्र आफ्नो काम सकाएर सचिवालयमा प्रतिवेदन पेस गर्न सदस्यहरुलाई निर्देशन समेत दिएका थिए । अध्यक्षद्वयले दिएको निर्देशन अनुसारको समय सीमा बिहीबार नै सकिएको हो । 


कार्यदलका सदस्य भुसालले १० दिनको समयसीमा तोकेको कुरा मिडियामा आएको कुरा मात्र रहेको दावी गर्दै अध्यक्षद्वयले जतिसक्दो छिटो प्रस्ताव तयार गर्न भन्नुभएको र त्यो अनुसार काम भइरहेको बताए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो । 

नेपाल कम्युनिस्ट पार्टी प्रतिवेदन

विशेष