राजनीति

'नेपालमा धार्मिक युद्ध हुने खतरा'

'नेपालमा धार्मिक युद्ध हुने खतरा'

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गरिबिको रेखामुनि रहेका सर्वसाधारण जनतालाई विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने क्रम जारी रहे निकट भविस्यमै नेपालमा धार्मिक युद्ध हुने खतरा रहेको बताएका छन् ।

 

राप्रपा जिल्ला कार्य समिति ललितपुरले आयोजना गरेको सनातन हिन्दु राष्ट्र पुनःस्थापना जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाललाई धर्म निरपेक्ष बनाउनमा ०६२/०६३ को आन्दोलनको माग नभएको बताउँदै परिवर्तनकारी भनाउँदा दलका केही नेताहरु आफ्नो सीमित स्वार्थको लागि पश्चिमाहरुले नेपाललाई सास्कृतिक उपनिवेश बनाउने उद्देश्यलाई परिपुर्ती गराउन मोहोराको रूपमा प्रयोग भएको स्पष्ट भइसकेको बताए।

 

राजनीतिक लेप लगाएर जबर्जस्ती थोपरिएको धर्म निरपेक्षको फोहोरलाई सफा गरेर राजनीतिक तवरबाट नै हिन्दु राष्ट्र पुनःस्थापना गराउनुपर्ने भएकोले नै हिन्दुराष्ट्रलाई पार्टीले मुख्य एजेन्डा बनाएको स्पष्ट पार्दै थापाले नेपालीहरुको एकताको आधार सनातन धर्म नै भएकोले हिन्दु राष्ट्र पुनःस्थापना गराएरै छोडने प्रतिबद्धता व्यक्त गरे ।

 

यसैको लागि पार्टीले आगामी माघ ७ र ८ गते देशैभर घरदैलो कार्यक्रम राखेको बताउदै अध्यक्ष थापाले सो घरदैलो कार्यक्रममा सरिक भइ आम नेपालीको घरमा पार्टीको एजेन्डा पुर्‍याएर आन्दोलनमा साथ दिन अनुरोध गर्न सम्पुर्ण कार्यकर्ताहरुलाई निर्देशन दिए ।

 

धर्मलाई अफिम ठान्नेहरुले भगवानको डरले ईश्वरको नाममा शपथ नलिएर खुलेआम भ्रष्टाचार गरिरहेको भन्दै थापाले मुलुकमा भ्रष्टाचार, हत्या, हिसा, बलात्कार जस्ता कुकृत्य मौलाउनु यसैको उपज भएको ठोकुवा गरे ।

 

कार्यक्रममा स्वामी पद्म धाराचार्य, पार्टीका केन्द्रीय सदस्य एवं सनातन धर्म सस्कृती सगठनका अध्यक्ष पुष्पराज पुरुष, राजगुरु महाराज श्री शेशनाथलगायतका धार्मिक वक्ताहरुले नेपाललाई हिन्दुराष्ट्र बनाउने अभियानमा सरिक भई सफलता दिलाउन सबैलाई अनुरोध गरे । पार्टीका ललितपुर जिल्ला अध्यक्ष आनन्द अधिकारिको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रीय सदस्य निरन्जन थापाले स्वगत मन्तव्य व्यक्त गरे ।

राप्रपा

विशेष