देश राजनीति

नेविसंघका ४५ केन्द्रीय सदस्यद्वारा राजीनामा

नेविसंघका ४५ केन्द्रीय सदस्यद्वारा राजीनामा

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले महाधिवेशनको मिति पटक-पटक घोषणा गर्ने नहुने निश्चित भएपछि नेविसंघ केन्द्रीय समितिका पदाधिकारीसहित ४५ जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवापक्षीय नौ जना पदाधिकारीको राजीनामालगत्तै पौडेल पक्षीय विद्यार्थी नेता पदाधिकारी तथा केन्द्रीय सदस्यले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

 

सहमहामन्त्री ललिता सुनार र हरिहर शर्मा पक्षबाट सामूहिक राजीनामाको संयोजन गर्ने भोला नेपालका अनुसार राजीनामा गर्ने सदस्यमा भोला नेपाल, कल्पना खड्का, सुनिता अधिकारी, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दिपेशराज भण्डारीलगायत रहेका छन् । उनीहरुले अध्यक्ष महर नेतृत्वबाट महाधिवेशन सम्भव नभएकाले वर्तमान कार्यसमितिको औचित्य र सान्दर्भिकता सकिएको कारण देखाई राजीनामा दिएको बताएका छन् ।

 

महर नेतृत्व नालायकसिद्ध भएको, महङ्गी, भ्रष्टाचार र जघन्य अपराधका मुद्दामा मौन रहेको, डां गोविन्द केसीले उठाएको मागहरुको विरुद्धमा उत्रेको रहेको, शैक्षिक माफियाको संरक्षक बनेको, स्ववियु निर्वाचनमा नेवि संघलाई जिताउन नसकेको र जतिपटक म्याद थप गरे पनि महाधिवेशन नगराएको आरोप लगाएका छन् । पार्टीले महाधिवेशनका लागि नेविसंघको पटकपटक म्याद थप गरी अधिवेशनका लागि ताकेता गरेको थियो तर नेविसंघमा महर नेतृत्वबाट महाधिवेशन हुन नसकेपछि नैतिकताको आधारमा राजीनामा दिएको दावी गरिएको छ ।

 

पौडेलपक्षीय विद्यार्थी नेता हरिहर शर्माले महर नेतृत्वले महाधिवेशन नगरी आफ्नो पद मात्र लम्ब्याएको, क्याम्पसमा संगठन बनाउन र आन्दोलन गर्न नसकेको आरोप लगाए । यसअघि सभापति देउवा पक्षीय महामन्त्रीसहित उपाध्यक्षहरु र सहमहामन्त्रीहरुले राजीनामा दिइसकेका छन् । विधानअनुसार तदर्थ समिति गठन गरी महाधिवेशन सम्पन्न गर्नुपर्ने राजीनामा दिने सदस्यको तर्क छ । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो । 

नेपाल विद्यार्थी संघ राजीना

विशेष