राजनीति

सिडियो शक्तिशाली बनाएपछि मुख्यमन्त्रीहरूको आक्रोश : समग्र शान्ति सुरक्षाको जिम्मा पनि संघीय सरकारले नै लेओस्

सिडियो शक्तिशाली बनाएपछि मुख्यमन्त्रीहरूको आक्रोश : समग्र शान्ति सुरक्षाको जिम्मा पनि संघीय सरकारले नै लेओस्

काठमाडौं । संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको भन्दै बिहीबार गृह मन्त्रालय पुगेका प्रदेश मुख्यमन्त्रीहरूले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन्।

 

सरकारले प्रदेश सरकारलाई क्रस गर्ने गरी सीडीओलाई अझै अधिकार थपेको भन्दै उनीहरूले शान्ति सुरक्षाको सबै जिम्मा पनि आफैं लिन गृहमन्त्री रामबहादुर थापालाई चुनौती दिएका छन्। ‘प्रदेश सरकारको भूमिकामाथि नै प्रश्न उठ्ने गरी सीडीओलाई झन् शक्तिशाली बनाउने हो भने समग्र शान्ति सुरक्षाको जिम्मा पनि संघीय सरकारले नै लेओस’, गृहमन्त्री भेट्न गएका मुख्यमन्त्रीहरूको भनाइ उद्धृत गर्दै गृहका एक अधिकारीले भने, ‘शान्ति सुरक्षा आफ्नै नियन्त्रणमा राख्न बरु संविधान संशोधन गर्नुस्।’

 

सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र आन्तरिक शान्ति तथा व्यवस्था कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता गरिसकेको छ। दुवै विधेयकमा सीडीओलाई शक्तिशाली बनाउने प्रावधान छन्।

 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यति लामो संघर्ष गरेर ल्याएको संघीयतामा सरकारले अभ्यासचाहिं उल्टो गर्न खोजेको गुनासो गरे। ‘लामो संघर्ष गरेर हामीले ल्याएको संघीयतामा सीडीओलाई झन् शक्तिशाली बनाउने हो भने प्रदेश सरकारको भूमिका चाहिं के रु हामीले सीडीओलाई प्रदेशमातहत नै ल्याएर शान्ति सुरक्षाको कमान्ड पनि प्रदेशमै हुनुपर्ने भनेका छौं’, उनले भने, ‘अहिलेकै अवस्थामा प्रदेश सरकारले दिएको सार्वजनिक बिदा अटेर गर्ने सीडीओलाई झन् शक्तिशाली बनाउने हो भने शान्तिसुरक्षाको कमान्ड पनि केन्द्र सरकारले नै गरे हुन्छ।’ यो खबर आजको अनपूर्ण पोस्टबाट लिइएको हो ।

मुख्यमन्त्री

विशेष