राजनीति

कांग्रेसनिकट पत्रकारले देउवालाई भने, ‘ओली सरकारको समर्थनमा विज्ञप्ति निकाल्नूस’

कांग्रेसनिकट पत्रकारले देउवालाई भने, ‘ओली सरकारको समर्थनमा विज्ञप्ति निकाल्नूस’

काठमाडौं । नेपाली कांग्रेस निकस्थ केही पत्रकारले पार्टी सभापति शेरबहादुर देउवालाई ओली सरकारको समर्थनमा वक्तव्य निकाल्ने सुझाव दिएका छन् । महासमिति बैठकपछि पत्रकारहरूसँग खाइपिइ गर्न गत बिहीबार बुद्धनगरस्थित बागमति किनाराको भ्याली टप रेस्टुरेन्टमा जम्मा पारिएका पत्रकरामध्ये घटना र विचार साप्ताहिकका सम्पादक देवप्रकाश त्रिपाठीले सरकारको समर्थनमा वक्तव्य निकाल्न सुझाइरहँदा अरू पत्रकार मसुमुसु हाँसिरहेका थिए । प्रेस युनियन अध्यक्ष बद्री सिग्देलको स्वामित्वमा रहेको उक्त रेस्टुरेन्टमा कार्यक्रमअघि एपी वन टेलिभिजनकी कांग्रेस बिट रिपोर्टिङ गर्ने सचिता बुढाथोकीले जन्मदिनको केक काट्न भ्याएकी थिइन् ।

 

विमलेन्द्र निधिले 'संघीयता र धर्म निरपेक्षतालाई महान उपलब्धिका रूपमा चित्रण गर्दै कांग्रेस अब परिवर्तनको स्वामित्व स्थापित गर्न सक्रिय हुन्छ, मधेस आन्दोलनको भावनाअनुसार संविधान संशोधन गर्नुपर्छ भन्नेमा हामी अडिग छौँ', भनेका थिए । त्यसपछि हो पत्रकारसँग सुझाव लिइएको । त्यसक्रममा देवप्रकाशले भने, 'यही रूपमा प्रतिपक्षीको भूमिका यसैगरी निर्वाह गर्नेछौ भनौँ । यसरी वक्तव्य जारी गरेपछि तपाईंहरू जति निश्क्रिय बसे पनि हुन्छ । यसबाट जनता के बुझ्छन् भने, कांग्रेसले बोल्न नसकेर होइन निर्णय नै गरेर चुप लागेर बसेको छ ।' उनले 'महसमितिको बैठकपछि सुझाव लिनुभयो । खाना खाएपछि मेन्यु खोइ भनेजस्तो भयो । सुझावै मागेपछि एउटा सुझाव दिनपर्छ भनेर मैले यस्तो कुरा गरेको हुँ' भने । यो खबर जनआस्था साप्ताहिकबाट लिइएको हो ।

नेपाली काँग्रेस

विशेष