राजनीति

होली वाइन प्रकरणः ओली र नेपालले सार्वजनिक रुपमै माफी माग्नु पर्ने  

होली वाइन प्रकरणः ओली र नेपालले सार्वजनिक रुपमै माफी माग्नु पर्ने  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले प्रधानमन्त्री र एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो गल्तीका निम्ति सार्वजनिक रुपमै ‘माफी माग्नुपर्ने’ निर्णय गरेको छ ।

 

कम्युनिस्ट परम्परामा आत्मालोचनालाई माफीका रुपमा बुझिन्छ र सामान्यतया बैठकमा आफ्नो गल्ती स्वीकार गरेपछि आइन्दा त्यस्तो गल्ती दोहोरिन नदिने प्रतिवद्धता जनाएको मानिन्छ । तर, प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालले बैठकमा आत्मालोचना गरेर छुट पाएनन् । 

 

 

दुवैले सार्वजनिक रुपमा वक्तव्य नै जारी गरी आत्मालोचना अर्थात् माफी माग्नुपर्ने ‘आदेश’ स्थायी समितिको छ । यदि सार्वजनिक रुपमा आत्मालोचना गरिएन भने यही विषयलाई मुद्दा बनाएर प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालको सार्वजनिक आलोचना गर्ने अभियान पार्टीभित्रैबाट चलाइने बुझीएको छ । 

 

 

युनिफिकेसन चर्चद्वारा आयोजित एसिया प्यासिफिक समिटमा सरकारको सहभागिता हुनु र सरकालाई सहभागी गराउन माधवकुमार नेपालले मुख्य भूमिका निर्वाह गर्नुलाई उनीहरुको गम्भीर गल्ती मानिएको छ । विवादास्पद गैरसरकारी धर्म प्रचारक संस्था युनिफिकेसन चर्च तथा त्यसका नेपाली प्रतिनिधि एकनाथ ढकालसँगको सम्बन्धलाई लिएर स्थायी समिति बैठकमा माधवकुमार नेपालको व्यापक आलोचना भएको थियो । 

 

 

विगतदेखि नै माधवनिकटका मानिने नेताहरु भीम रावल, रघुजी पन्त, योगेश भट्टराई र घनश्याम भुसाल तथा पार्टी प्रवक्तासमेत रहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले माधव नेपालको तीव्र आलोचना गरेका थिए । ‘माधव कमरेडले आत्मालोचना गरेर मात्र हुन्न, सार्वजनिक रुपमै माफी माग्नुपर्छ’ भन्ने भनाइ नेता माधवकै निकटवर्तीहरुको थियो । त्यस्तै, क्रिश्चियनहरुको एउटा विवादास्पद गैरसरकारी संस्थासँग सहकार्य गर्नु सरकारको गम्भीर गल्ती भएको र यस घटनाले सरकार तथा कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुर्याएको भनी प्रवक्ता नारायाणकाजी श्रेष्ठले व्यक्त गरेको विचारमा सहभागी अधिकांश नेताहरुले सहमति जनाएका थिए । 

 

नेता श्रेष्ठले ‘आफूबाट प्रधानमन्त्रीजीलाई सचेत गराउने काम पहिले नै भएको, तर उहाँको बेवास्ता गर्नुभएको’ भन्दै गल्ती स्वीकार गर्नुको कुनै विकल्प नभएको धारणा प्रकट गरेका थिए । पैंतालीस सदस्यीय स्थायी समितिका अधिकांश सदस्यले प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपालबाट कम्युनिस्ट आन्दोलन तथा कम्युनिस्ट सरकारको छविलाई गम्भीर क्षति पुर्याउने काम भएको धारणा व्यक्त गरेपछि अन्ततः दुवै नेताहरुले आआफ्ना गल्तीका निम्ति सार्वजनिक रुपमै आत्मालोचना गर्नुु (माफी माग्नु) पर्ने निष्कर्षमा बैठक पुगेको थियो । 

 

बैठकको भावना र निर्णयअनुसार केपी र माधवबाट सार्वजनिक वक्तव्यमार्फत आत्मालोचना गरिने विश्वास स्थायी समितिका सदस्यहरुले गरेका थिए । यो समाचार घटना र विचार साप्ताहिकबाट लिइएको हो । 
 

विशेष