देश राजनीति

पूर्वमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार

पूर्वमन्त्री अधिकारीको स्वास्थ्यमा थप समस्या, सिसियूमा उपचार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएको छ । स्वास्थ्यमा थप समस्या देखिएपछि अधिकारीको नख्खुस्थित मेडिसिटी अस्पतालको सिसियू (सघन) कक्षमा उपचार सुरु गरिएको छ ।  

 

मुटु, श्वासप्रश्वास र छातीको संक्रमणको उपचारका लागि गत २३ पुसमा अस्पताल भर्ना भएका अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार भएपछि उनी ३० पुसमा डिस्चार्ज भएका थिए । तर, अचानक समस्या बल्झिएपछि पुनः २ माघको राति सोही अस्पताल भर्ना गरिएको थियो । 

 

‘मुटु र श्वासप्रश्वासमा समस्या थपिएपछि अहिले सघन उपचार कक्ष (सिसियू) मा उपचार भइरहेको छ,’ अधिकारीका स्वकीय सचिव महेश विष्टले भने, ‘२४ घन्टाको अब्जर्भेसनमा नयाँ औषधि चलाएर मुटुमा देखिएको समस्या कम गर्ने चिकित्सकहरूको प्रयास छ ।’ मुटुरोग विशेषज्ञ डा. रञ्जित शर्मासहितको टोलीले अधिकारीको उपचार गरिरहेको छ ।

 

उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले चिकित्सकलाई उद्धृत गर्दै अधिकारीको मुटुको चाल र छातीको रिपोर्ट सुधारोन्मुख देखिएको जानकारी दिए । 

भरतमोहन अधिकारी

विशेष