गगन थापा भन्छन्, ‘सरकार जिम्मेवार नभए संसदमा मुठभेट हुनसक्छ’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए आज बस्ने संसद बैठकमा मुठभेट हुनसक्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार गरेको साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका चित्तबुझ्दो नभएको पनि गुनासो पोखे ।
‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ । सभामुख सदनमा आउनुपुर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो’, उनले भने, ‘तर सभामुख पदमा आसिन भइसकेपछि दलमा उहाँको आवद्धता रहनुहुन्न । तर, दुःखका साथ भन्नुपर्छ सभामुखको भूमिकाबाट हामीले यो कुरालाई महसुस गर्न पाइरहेका छैनौं ।’
साक्षात्कारमा बोल्दै उनले चिकित्सा शिक्षा विधेयक अरु विधेयकभन्दा फरक भएको उल्लेख गरे । ‘जुन विधेयक अनशनबाट डा. गोविन्द केसीसँग सम्झौता भइसकेपछि सदन चलेको बेला शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भनेपछिमात्रै त्यो अगाडि बढेको छ । त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होइन, प्रश्न यहाँ संसदको पनि हो’, थापाले भने । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
गगन थापा नेपाली काँग्रेस