राजनीति

धारविहीन विद्यार्थी आन्दोलन, अखिल र अखिल क्रान्तिकारी अलग-अलग

धारविहीन विद्यार्थी आन्दोलन, अखिल र अखिल क्रान्तिकारी अलग-अलग

काठमाडौं । पञ्चायतकालमा विद्यार्थी संगठन पार्टीभन्दा प्रभावकारी थिए । पार्टीको विचार प्रवाहमा पहिलो र प्रभावकारी सारथि थिए, विद्यार्थी संगठन । गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि पहिलो मोर्चामा उभिएर नारा घन्काउँदै सुरक्षाकर्मीको काँडेतार तोड्ने विद्यार्थी नै थिए । ती विद्यार्थी संगठन अहिले पनि छन्, तर धारविहीन । न उनीहरूको विचारको धार चोटिलो छ। न सांगठनिक नक्सा मजबुत छ। उतिवेला कुनै पनि राष्ट्रिय मुद्दामा देश उचाल्न सबल विद्यार्थी  संगठन अहिले आफैँ भत्किएका छन् ।

 

अखिल र अखिल क्रान्तिकारी अलग-अलग र गतिहीन

तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएको ८ महिना भइसक्यो । तर, एमालेनिकट विद्यार्थी संगठन अखिल र माओवादीनिकट अखिल क्रान्तिकारी बेग्लाबेग्लै अस्तित्वमा छन्, तर गतिविहीन । हिजो पार्टीको एजेन्डा स्थापित गराउन लड्ने विद्यार्थी कोही सत्तामा पनि पुगेका छन्, कोही राजनीतिबाटै निष्क्रिय छन् । अहिलेका नेता एजेन्डा र दिशाविहीन छन् । 

 

‘विगतमा विद्यार्थी संगठनले व्यवस्था परिवर्तनसँगै राष्ट्रियताको विषयमा संघर्ष गरे,’ अखिल क्रान्त्रिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘बदलिएको परिस्थितिमा विद्यार्थी संगठनको आन्दोलनको स्वरूप मात्र परिवर्तन भएको हो । विद्यार्थी संगठनको एकता टुंगो नलाग्दा प्रभावकारी काम गर्न सकिएको छैन ।’ 

 

अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्य संगठन एजेन्डाविहीन भएको र गुटगत राजनीतिमा फस्दै गएको स्विकार्छन् । ‘पार्टीको गुटगत राजनीति संगठनमा आउँदा योग्यता, क्षमता, दृष्टिकोणभन्दा गुट हेर्ने प्रवृत्ति मौलायो र विद्यार्थी आन्दोलन रक्षात्मक बन्न थाल्यो । विचारकेन्द्रित राजनीतिभन्दा आत्मकेन्द्रगत र गुटगत राजनीतिले संगठन भुत्ते भयो,’ उनले भने । 

 

विद्यार्थी संगठनमा गुटगत राजनीतिक प्रभाव बढ्दै जाँदा एजेन्डागत राजनीतिभन्दा बहुमतले अल्पमतलाई पेल्ने प्रचलन अनेरास्ववियुमा बढ्दै गएको छ । अहिले अनेरास्ववियुमा केपी ओली पक्षको बहुमत भए पनि एकआपसको खिचातानीले संगठन काममा भन्दा विवादमा अल्झिने गरेको छ । २१औँ राष्ट्रिय सम्मेलनबाट नवीना लामा वामदेव गौतम पक्षबाट महासचिव र ऐन महर केपी ओली पक्षबाट उपाध्यक्ष थिए । पार्टीमा गौतम र ओली एउटै गुटमा भएपछि २२औँ सम्मेलनबाट लामाले अध्यक्षको जिम्मेवारी पाइन् । महर भावी अध्यक्ष बनाउने सर्तमा महासचिव छन् । तर, अब अखिल र क्रान्तिकारीको तलसम्म सांगठनिक एकताबारे अन्योल छ । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो ।

अखिल क्रान्तिकारी अनेरास्ववियु

विशेष