राजनीति

भारतको गणतन्त्र दिवसकै दिन सुगौली सन्धिपूर्वको जमिन फिर्ता गर्न माग

भारतको गणतन्त्र दिवसकै दिन सुगौली सन्धिपूर्वको जमिन फिर्ता गर्न माग

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय गणतन्त्र दिवसकै दिन सुगौली सन्धिपूर्वको जमिन फिर्ता गर्न माग गरेको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले सुगौली सन्धिपूर्वको जमिन भारतले फिर्ता गर्नुपर्ने माग गरेका हुन् । 

 

लामो समयदेखि ग्रेटर नेपालको अभियान सञ्चालन गर्दै आएका नेपालले सन् १९४७ अगस्त १५ यता  विगत ७३ वर्षदेखि नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन कब्जा गरेर त्यहाँ गणतन्त्र दिवस मनाउनु, प्रजातन्त्र , स्वतन्त्रता र मानव अधिकारको घोर अपमान भएको बताएका छन् । 

 

‘लामो समयसम्म उपनिवेशमा रहेर स्वतन्त्रता प्राप्त गरेको भारतले नेपाली भूमिको स्वतन्त्रतामाथि सैनिक बुट प्रहार गर्नु सामान्य कुरा नभएर जघन्य अपराध हो र उसले  यो अपराध बोध नगर्नु झन् ठूलो अपराध हो । अर्काको सम्पत्ति लुटेर धनी हुने सामन्तजस्तै भारतले नेपाली जमिन कब्जा गरेर आफ्नो क्षेत्रफल बढाउनु लाजमर्दो र क्षोभजनक  कुरा हो । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत डेढ दशकदेखि १८१६ मार्च ४ मा बेलायतसँग भएको सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी जमिनमा इन्डियाले कायम गरेको उपनिवेशको तत्काल अन्त्यको माग गर्दै आएको छ र यो माग आज २६ जनवरी २०१९ का दिन दोहोर्याउँदै नेपाली भूमि सिक्किम , दार्जिलिङ , कुमाउ , गढवालमा गणतन्त्र दिवस मनाउन लागेकामा मोर्चा त्यसको भत्र्सना गर्दछ’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

मोर्चाले नेपाल र भारतका दुवै सरकारलाई सन् १९६० मा संयुक्त राष्ट्र संघद्वारा पारित उपनिवेशको अन्त्यसम्बन्धी १५१४ नं. को प्रस्तावको पालना गरी संयुक्त राष्ट्र संघको निर्णयको सम्मान गर्न पनि थप आग्रह गरेको छ ।

ग्रेटर नेपाल फणिन्द्र नेपाल

विशेष