अर्थ राजनीति

प्रधानमन्त्री कार्यालयबाटै कानुन उल्लंघन

प्रधानमन्त्री कार्यालयबाटै कानुन उल्लंघन

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रावधानविपरीत रहेको पाइएको छ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्टिय गौरवका आयोजना निगरानी गर्न भन्दै माघ १७ गतेसम्मको एक साता समयावधि राखेर गत माघ १० गते गोरखापत्रमा टेलिप्रिजेन्स सिस्टम अर्थात् ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माणका लागि बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको छ। सार्वजनिक खरिद ऐन २०६३ को दफा १४ को उपदफा ९४० बमोजिम राष्टिय स्तरको बोलपत्र आह्वान गर्दा कम्तीमा ३० दिन म्याद दिनुपर्नेमा एक हप्ता मात्रै समय दिई कानुनको उल्लंघन भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रकाशित सूचनाको बुँदा नम्बर १ मा राष्ट्रिय स्तरको बोलपत्र आह्वान भनी उल्लेख छ।

 

‘भिडियो कन्फेरेन्स’ खरिदको लागत करिब ६ करोड रुपैयाँ अनुमान गरिएको छ। विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०६२ दफा ३५ को उपदफा ३ अनुसार साठी लाखभन्दा बढीको मालसामान खरिद गर्दा अनिवार्य रूपमा विद्युतीय खरिद प्रणालीको प्रयोगबाट गर्नुपर्ने हुन्छ। तर, उक्त निर्देशिकाको प्राधानविपरीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले इ– बिडिङ प्रयोग नगरी ‘टेलिप्रिजेन्स सिस्टम विथ सर्भिलेन्स सिस्टम’ खरिदसम्बन्धी बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको हो। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वार रुम

विशेष