राजनीति

गुरिल्ला ‘साइकोलोजी’बाट मुक्त हुन सकेनन् सभामुख 

गुरिल्ला ‘साइकोलोजी’बाट मुक्त हुन सकेनन् सभामुख 

काठमाडौं । केही वर्षअघि सरकार गठन गर्न चिनियाँ व्यापारीसँग ५० करोड मागेको अडियो रेकर्ड र आफैंले आफैंलाई सुन तस्करीमा क्रियाशील ‘साना माछा’ को संज्ञा दिएपछि कृष्णबहादुर महारा नेपाली राजनीतिका विवादित पात्र हुन् भन्ने कुरामा दुईमत रहेन ।

 

तर विवादबाट मुक्त नेता नै नभेटिने समस्याका कारण उनी विवादित भएरै पनि अनवरत माओवादीबाट अवसर पाइरहने नेतामा पर्दै आएका छन् । गृहमन्त्री, अर्थमन्त्री, उपप्रधानमन्त्रीदेखि सभामुखसम्मको लाभैलाभको पदमा छन् उनी । 

 

शुक्रबार चिकित्सा शिक्षा विधयेक पास गरिरहँदा संसदमा देखिएका केही दृश्य निकै रोचक थिए । मर्यादापालकहरुको घेराबाट रोष्ट्रम पुगेका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले आमसभामा झै संसदलाई हात हल्लाए । त्यसपछि सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक संसदमा निर्णयार्थ पेश गरे । सबैभन्दा गज्जब त यहि बेला भयो । 

 

सभामुख महरा यो विधेयक पास नगर्दा आफै फेल हुने झै गरी प्रस्तुत भए । उनी यति छिटोछिटो बोल्दा उनको जिब्रो लटपटियो । शब्दहरु पूरा उच्चारण गर्न सकेनन् । जसका कारण उनको वाक्य नै लरबरियो । उनी निकै हतास रुपमा प्रस्तुत भए । विधयेकको पक्षमा ‘हुन्छ’ भन्ने माननीय सदस्यहरुको बहुमत भएकोले विधेयक पास हुन्छ भन्ने आसयमा बोल्नु पर्नेमा उनले ‘हुन्न’ भन्ने सदस्यको बहुमत भएकोले विधयेक पास हुन्छ भन्दै विधयेक पास भएको जानकारी दिए । 

 

 

अर्थात वचनको कुरा गर्ने हो भने चिकित्सा शिक्षा विधयेकमा ‘हुन्न’ भन्ने सांसदहरु बहुमतमा भएकोले यो विधेयक संसदबाट अस्वीकृत भएको हो । यद्यपि सो विधयेक पास नै भएको हो, सभामुखको ‘टङ स्लिप’ मात्रै भएको हो । सभामुखको आसय बुझिसकेपछि ‘टङ स्लिप’मा खोँचे थापिरहनु तर्कसंगत हुँदैन । 

 

तर यो प्रक्रियामा केही त्यस्ता पक्ष पनि छन्, जसमा सभामुख वास्तवमै चुके । विधयेक पास हुनु र नहुनु सत्ता पक्ष  र प्रतिपक्षको लागि महत्वपूर्ण हुन्छ । सभामुखका लागि होइन ।  सभामुख पद त  तटस्थ हो । सभामुख कृष्णबहादुर महराले तटस्थता देखाउन सकेनन् । उनमा देखिएको हड्बडाहटले तटस्थता पटक्कै देखाएन । मानौं कि त्यो विधयेक सरकारको नभएर सभामुख महराको थियो । उनी कांग्रेसको अवरोधबीच पनि हत् न पत् पास गरेर विजयोत्सव मनाउन उद्यत देखिए । 

 

महराको तटस्थता नै उनको प्रोफेस्नालिजम हो । उनी प्रोफेस्नालिजममा चुके । एउटा डाक्टरले मन नपरेको व्यक्तिलाई जानीबुझी गलत उपचार गर्नु पेशागत मर्यादाको उल्लंघन हो । त्यो प्रोफेस्नालिजम होइन । यसैगरी महराको शैलीले पनि तटस्थताको मर्यादा उल्लंघन गर्‍यो  । उनी पनि प्रोफेस्नालिजममा चुके  । उनमा अहिले पनि आफू विद्रोही माओवादीको कमाण्डर नै हुँ भन्ने भ्रान्ति रहेको देखियो । कमरेड महरा गुरिल्ला साइकोलोजीबाट मुक्त भएको देखिएनन् । 
समाचार विश्लेषण

विशेष