अब विदेशमा कार्यरत सबै नेपालीको पनि सञ्चयकोष
काठमाडौं । वैदेशिक रोजगारी क्षेत्रलाई उत्पादनमूलक बनाउन सरकारले विदेशमा कार्यरत सबै नेपालीलाई सञ्चय कोषको दायरामा ल्याउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सञ्चय कोषको संयुक्त सहकार्यमा वैदेशिक रोजगारमा रहेका सबै नेपालीलाई सञ्चय कोषको दायरामा ल्याउने तयारी भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा प्राप्त रकमलाई उत्पादनशील क्षेत्रमा लगाउने उद्देश्यले ती श्रमिकका लागि सञ्चयकोषको व्यवस्था गर्न लागिएको जानकारी दिए। ‘अहिले विदेशमा कमाएको सबै पैसा उपभोग्य वस्तुमै सकिने गरेको छ’, उनले भने, ‘उत्पादनशील क्षेत्रमा लगाउने उद्देश्यले ती कामदारलाई सञ्चयकोषको सुविधामार्फत पैसा परिचालन गर्न खोजेका हौं।’
मन्त्री विष्टले उक्त व्यवस्था सुरु गर्न छिट्टै कानुनी तथा नीतिगत व्यवस्था गरिने जानकारी दिए। ‘यसले वैदेशिक रोजगारीमा जाने युवालाई सुरक्षा प्रदान गर्छ र रेमिट्यान्स पनि सही ठाउँमा उपयोग गर्न मद्दत गर्छ।’ सरकारले पहिलो चरणमा वैदेशिक रोजगारीमा भएका नेपालीलाई सञ्चयकोषको दायरामा ल्याउनेछ। त्यसपछि विदेशमा व्यापाररव्यवसाय गर्ने नेपाली नागरिक र गैरआवासीय नेपालीले पनि यस्तो सुविधा पाउनेछन्।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले यो योजना प्रारम्भ भएपछि श्रम स्वीकृति गर्दाकै अवस्थामा ती व्यक्तिलाई योजनामा सूचीकृत गरिने जानकारी दिए। यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले श्रम स्वीकृति नवीकरण गर्दा यस्तो सुविधामा सहभागी हुन पाउनेछन्। सम्बन्धित देशमा रहेका नेपाली नियोगमार्फत् पनि योजनामा सूचीकृत हुनसक्ने व्यवस्था गर्न लागिएको छ।
दाहालका अनुसार सुरुमा धेरै व्यक्ति भएका देशमध्ये छनोट गरी पाइलट प्रोजेक्टका रूपमा कार्यान्वयन हुनेछ। त्यसपछि अन्य देशमा उक्त सुविधा लागू गर्ने सरकारको तयारी छ। योजनामा सहभागी हुने कामदारले वार्षिक २४ हजारदेखि अधिकतम तीन लाखसम्म जम्मा गर्न सक्नेछन्। कामदारले एकैचोटी एवं किस्तामा चारपटकसम्म सञ्चयकोषमा जम्मा गर्न सक्नेछन्। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।
वैदेशिक रोजगारी सञ्चायकोष