राजनीति

सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप

सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप

काठमाडौँ । सदन बाहिर सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले एक अर्का प्रति आरोप प्रत्यारोप गरेका छन् । 

 

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक स्थगन भएलगत्तै सत्तापक्षका सांसदले संसदीय प्रणालीलाई अप्ठ्यारोमा पार्ने गरी प्रतिपक्षले विरोधमाथि विरोध गरी सदन अवरोध गरेको बताएका थिए भने प्रतिपक्ष दलका सांसदले बहुमतका आडमा सरकार अराजक बन्दै गएको आरोप लगाएका छन् । 

 

नेकपा संसदीय दलका सचेतक देव गुरुङले संसदीय प्रणालीलाई प्रतिपक्षले अस्वीकार गरी अघि बढेको आरोप लगाए । उनले बहुमतलाई अस्वीकार गर्ने परिपाटी लोकतन्त्रमा कहिलै हुन नसक्ने बताउँदै प्रतिपक्षले अटेर गरी सदन अवरोध गरिरहेको बताए । 

 

नेपाली काङ्ग्रेसका गगनकुमार थापाले सदनमा असहमति राख्नेलाई समाप्त पार्ने र प्रतिपक्षको अस्तित्वलाई अस्वीकार गर्ने परम्परा सदनमा हावी हुँदै गएको बताए । 


उनले जीवन र मरणको दोसाँधमा रहेका डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले कुनै प्रयत्न नै नगरी अहंकार र दम्भबाट अघि बढिरहेको आरोप लगाए । 

 

सोही दलका अर्का सांसद बालकृष्ण खाँणले गलत कामको भण्डाफोर गर्ने काम प्रतिपक्षको धर्म भएको बताउँदै बहुमतका आडमा दम्भ देखाएर प्रतिपक्षको अस्तित्वलाई अस्वीकार गर्ने परम्पराले प्रश्रय पाइरहेको छ भने ।  

आरोप प्रत्यारोप

विशेष