देश राजनीति

नेकपाको सांगठनिक एकता लम्बियो

नेकपाको सांगठनिक एकता लम्बियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साङ्गठनिक एकताको टुङ्गो लगाउन गृहकार्य जारी छ ।  गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरणको घोषणा गर्दै तीन महिनाभित्र सबै तहको साङ्गठानिक एकतालाई पूर्णता दिने भनिएको थियो । तर एकीकरण भएको नौ महिना पुग्दा पनि एकता प्रक्रिया टुङ्गिएको छैन । 


पार्टीको मूल कमिटीबीच एकीकरणको घोषणा भएपछि बाँकी रहेका सङ्गठनको एकता टुङ्गो लगाउन विभिन्न कार्यदल गठन भए पनि निष्कर्षमा पुगिएको छैन । पुस १३ गते सम्पन्न पार्टीको स्थायी कमिटीको बैठकले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो तर सो कार्यदलले पनि हालसम्म ठोस निर्णयमा पुग्न सकेको छैन ।

 

कार्यदललाई पुस मसान्तसम्म एकीकरणका लागि गृहकार्य गरी प्रतिवेदन बुझाउन बैठकले निर्देशन दिएको थियो । सोही अनुसार कार्यदलले काम पनि सुरु गरेको थियो ।  पुस मसान्त भित्र काम नसकेपछि पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १० दिनको म्याद थप्ने निर्णय गरेका थिए । सो अवधिमा पनि कार्य पूरा हुन सकेको छैन । 

 

कार्यदलमा रहेका नौ जना सदस्यमध्ये चारजना मन्त्रीको जिम्मेवारी रहेका छन् । उनीहरूको कार्यव्यस्तता कारण बैठक प्रभावित भइरहेको कार्यदलका सदस्य लेखराज भट्टले बताए । कार्यदलमा रहनुभएका रामबहादुर थापा गृहमन्त्री, वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री र शङ्कर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री छन् ।


हालसम्म सातवटा बैठक मात्र बसेको छ । तर, हालसम्म कुनै निष्कर्षमा पुगेको छैन । एकीकरणका लागि मापदण्ड बनाएर छलफल सुरु भएको छ तर टुङ्गो नलागेको भट्टले बताए । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
 

नेपाल कम्युनिस्ट पार्टी सांगठनिक एकता

विशेष