प्रधानमन्त्री भन्छन्, ‘मेलम्ची आयोजना जापानीज कारको गतिमा कुदेको छ’
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मेलम्ची खानेपानी आयोजनाको कामलाई समयमै पूर्णता दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । ललितपुरको बालकुमारीमा निर्माण गर्न लागिएको फोहोर पानी प्रशोधन केन्द्रको बिहीबार शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीले आयोजनाको काममा केही अवरोध आए पनि अन्योल नै छाएको नठान्न आग्रह गरे ।
२७ वर्षसम्म आयोजना निर्माणको काम चिप्लेकिराको गतिमा भएको भन्दै प्रधानमन्त्री ओलीले एक वर्षयता कामले तीव्रता पाएको दाबी गरे । ‘एक वर्षयता आयोजनाको काम जापानिज कार चिल्लो सडकमा दौडिएजसरी दौडिएको छ,’ उनले भने, ‘आयोजनाको काम अघि बढाउन कुनै समस्या छैन ।’
मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले आयोजना सम्पन्न गर्न नसक्ने भन्दै ठेक्का रद्द गर्न (लेटर टु टर्मिनेसन) बुझाएपछि आयोजनाको भविष्यबारे अन्योल उत्पन्न भएको छ । निर्माणको कामलाई त्यत्तिकै छाडेर स्वदेश फर्केका सिएमसीका प्रतिनिधि अझै पनि आयोजनास्थल फर्किसकेका छैनन् । यो समाचार नयाँ पत्रिका दैनिबाट लिइएको हो ।
मेलम्ची खानेपानी आयोजना