आज प्रधानमन्त्री इलामतिर, लगानी सम्मेलन उद्घाटन गर्ने
इलाम । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अपराह्न इलाम सदरमुकाम आउँदैछन् । इलाम नगरपालिकाले आयोजना गर्ने लगानी सम्मेलन उद्घाटन र नागरिक अभिनन्दन ग्रहण गर्न प्रम ओली यहाँ आउन लागेका हुन् ।
पाँचथरको राँके–रवि–भेडेटार सडक शिलान्यासपछि अपराह्न १ बजेतिर प्रधानमन्त्री ओली इलाम आइपुग्ने नगरपालिकाले जनाएको छ । ओलीले २ बजे सदरमुकामको गौतमबुद्ध सभागृहमा लगानी सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको नगरका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए । ‘सदरमुकामस्थित गढीमा रहेको नेपाली सेनाको पशुपतिप्रसाद गणमा ओर्लिएर ओली कार्यक्रमस्थल गौतमबुद्ध सभागृह आउनुहुनेछ,’ उनले भने, ‘सम्मेलन उद्घाटनपछि प्रधानमन्त्रीको अभिनन्दन कार्यक्रम राखिएको छ ।’
श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले इलाम टेकेपछि कार्यक्रमस्थलमा अन्य अतिथिहरूको आसनग्रहण हुनेछ ।प्रधानमन्त्री कार्यक्रमस्थल आउनेबित्तिकै राष्ट्रिय गीत बजाएर कार्यक्रम सुरु हुनेछ । ‘सम्मेलनको सहआयोजक उद्योग वाणिज्य संघका अध्यक्षले स्वागत गर्नुहुनेछ, नगरपालिका प्रमुख महेश बस्नेतले कार्यक्रमको औचित्य बताउनुहुनेछ र पर्यटन अभियन्ता कृष्ण साहले लगानी सम्मेलनको छोटो कार्यपत्र प्रस्तुत गर्नुहुनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘कार्यपत्र प्रस्तुतिपछि नगरपालिकाले विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत गर्ने, त्यसपछि प्रम ओलीलाई अभिनन्दन गर्ने र बढीमा ५ जनाको मन्तव्यपछि प्रम ओलीले सम्बोधन गर्ने कार्यतालिका छ ।’अपराह्न ३ बजे प्रम ओली काठमाडौं प्रस्थान गर्नेछन् ।
केपी शर्मा ओली