राजनीति

भारत जाने यात्रुलाई गरिने दोहोरो जाँचप्रति परराष्ट्रमन्त्री असन्तुष्ट

भारत जाने यात्रुलाई गरिने दोहोरो जाँचप्रति परराष्ट्रमन्त्री असन्तुष्ट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एअर इन्डियाबाट भारत जाने यात्रुहरुका लागि दोहोरो सुरक्षा जाँच प्रति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका छन् । सम्पादकहरुसँगको भेटवार्ताका क्रममा दोहोरो जाँचले नेपालको सुरक्षा निकायप्रति विश्वास नरहेको सन्देश जाने भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले असन्तुष्टि जनाएका हुन् ।

 

भारतीय एअरलाईन्सहरुले नेपालको सुरक्षानिकायप्रति किन अविश्वास गरेका हुन् ? भन्ने प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो धारणा राखेका थिए । २४ डिसेम्बर १९९९ मा काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एअरलाईन्सको फ्लाइट ८१४ (आइसी १४) आतंकवादी संगठन हर्कत अल मुजाहिद्दिनको अपहरणमा परेदेखि भारतले त्रिभुवन विमानस्थलेको सुरक्षा व्यवस्थाप्रति अविश्वास गर्दै आएको छ । सो घटनामा एन्डियन एअरलाइन्सको एअरबसलाई अफगानिस्तानको कान्धाहार पुर्याइएको थियो ।

 

सो अपहरणमा १ यात्रुको ज्यान गएको थियो भने १७ घाइते भएका थिए । अपहरणकारीहरुले आफ्ना नाइके मौलाना मसुन अजहरको रिहाईको माग गरेका थिए । भारतले उनलाई मुक्त गरपछि उनी जैस ए मोेहम्मदका प्रमुख भए । पाँच वर्षमा ३८ क्विन्टर सुन तस्करी त्रिभुवन विमानस्थलबाटै भएका खबरहरु आएपछि भारतीय पक्ष अझै सशंकित हुँदै आएको छ । बलियो सुरक्षा व्यवस्था हुनु पर्ने विमानस्थलबाटै क्विन्टलका क्विन्टल सुन तस्करी हुने कुराले विमानस्थल अपराधको केन्द्र भएको भारतीयको बुझाइ छ भन्ने गरिन्छ ।

 

त्रिभुवन विमानस्थलबाट हातहतियार र विष्फोटक पदार्थ ओसारपसारका घटना नआए पनि भारतीय पक्ष नेपाली सुरक्षा निकायप्रति ढुक्क हुन नसकेका कारण आफ्नो एअरलाईन्समा बेग्लै सुरक्षा जाँच गर्दै आएको छ । भारतलाई आफ्नो जहाजमा एअर मार्सल राख्ने अनुमति नेपाल सरकारले नै दिएको हो ।

 

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था अन्तर्राष्ट्रिय मापदण्ड मुताबिकको नभएको भारतीय पक्षको दावी छ । नेपाली पक्षले विमानस्थलभित्र सुरक्षा प्रबन्ध राम्रो बनाउन धेरै प्रयासहरु पनि गरेको छ । यति हुँदा हुँदै सुन तस्करी काण्डले सरकारले गरेको सबै प्रयासमा पानी खन्याइदिएको सुरक्षा मामिला जानकारहरु बताउँछन् ।

प्रदीप ज्ञवाली

विशेष