राजनीति

आफ्नो नाम क्रिस्चियन धर्मसँग जोडिएकामा नेता नेपालको आपत्ति

आफ्नो नाम क्रिस्चियन धर्मसँग जोडिएकामा नेता नेपालको आपत्ति

काठमाडौं । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिस्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले विवादास्पद ‘एसिया प्यासिफिक समिट’ को आयोजनामा पूर्वप्रधानमन्त्री नेपाल सहभागी भएको र त्यसले मुलुकप्रति अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश गएको विषय उठाएका थिए ।

 

प्रत्युत्तरमा नेपालले सरकारको ‘सुखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ र सहयोग जुटाउन आफू समिटमा सहभागी भएको दाबी गर्दै आफूलाई क्रिस्चियन धर्मसँग जोडिएकामा आपत्ति जनाएका हुन् । उनले मुलुकलाई विश्वमा चिनाउन समिटमा सहभागी भएको उल्लेख गर्दै आफूमाथि गलत मनसाय राखेर प्रचार भइरहेको दाबी गरे ।

 

उनले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको बताए । उनले एसिया प्यासिफिक समिटमा सहभागी हुने बीपी कोइराला पहिलो नेता भएको दाबी गरे । नेता नेपालले समिटमा कांग्रेस नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र सभापति शेरबहादुर देउवा सहभागी हुँदा विवाद नगर्ने तर आफू सहभागी हुँदा विरोध गर्ने भन्दै कांग्रेस सांसद राजभण्डारीमाथि रोष प्रकट गरेका थिए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

विशेष