राजनीति

विवेकशील साझाको काभ्रे संयोजकमा श्रेष्ठ चयन

विवेकशील साझाको काभ्रे संयोजकमा श्रेष्ठ चयन

काभ्रे । विवेकशील साझा पार्टीले प्रदेश ३ को काभ्रे जिल्ला संयोजकमा भुषणकमार श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ समाजसेवी एवं युवा व्यवसायीका रुपमा समेत परिचित छन् ।

 

काभ्रेको बनेपामा पार्टीका प्रदेश ३ संयोजक समिक्षा बाँस्कोटा, केन्द्रीय सदस्य शशीविक्रम कार्की, मिलन पाण्डे, नेपाल प्रहरीका पूर्वएसएसपी लव विष्ट, साहित्यकार लक्ष्मण सापकोटालगायतको उपस्थितिमा आयोजित कार्यक्रममा श्रेष्ठ चयन भएका हुन् । 

 

श्रेष्ठ अटो नेपाल म्याग्जिनका संथापक प्रबन्ध निर्देशक, लाइन्स क्लब अफ पनौतीका संस्थापक कोषाध्यक्ष, सहारा जेष्ठ नागरिक समाजका महासचिव तथा समाजसेवी हुन् । उनी हाल विभिन्न सामाजिक संघसंस्थाहरूको नेतृत्वदायी भूमिकामा छन् । आफ्नै जीवनकालमा देशको रूपान्तरणको लक्ष्य बोकेर अघि बढिरहेकाले विवेकशील साझा पार्टीमा संलग्न भएको श्रेष्ठले बताए  । 

 

युवा नेता तथा समाजसेवी श्रेष्ठले आफ्नो क्षमता र योगदानलाई कदर गर्दै पार्टीले आफुलाई महत्वपूर्ण जिम्मेवारी दिएको बताएका छन् । संयोजक घोषणा लगत्तै कार्यक्रममा बोल्दै उनले आफू निष्ठाको काम गर्न राजनीतिमा होमिएको जिकिर गरे । सोही अवसरमा उनले अब समग्र जिल्लालाई कृषि, पर्यटन र चलचित्र शहरका रुपमा विकास गर्न आफूले महत्वपूर्ण भूमिका खेल्नेसमेत बताए ।

 

संयोजक श्रेष्ठ पत्रकार तथा अटो नेपाल पत्रिकाका प्रबन्ध निर्देशक समेत हुन् । उनले नेपालको प्रतिनिधि गर्दै विभिन्न देशमा मोटर स्पोर्ट्सको प्रचार गरेका छन् । हालसम्म ६० पटक रक्तदान, पढ्न नसकेका बालबालिका पढाउने, उपचार गर्न नसकेका मानिसको उपचारसमेत गर्द आएका छन । 

 

२०७१ मा उनले राष्ट्रिय युवा सम्मान पनि पाएका छन् । रेडक्रसको स्वर्ण जयन्तीमा नेरेसो पदकबाट सम्मानित भइसकेका श्रेष्ठ गएको चुनावमा यही पार्टीबाट काभ्रेको १ नं. क्षेत्रबात प्रतिनिधि सभा सदस्यमा चुनाव  समेत लडेका थिए । 

 

काभ्रेको पनौती नगरपालिका – १० खोपासी जन्मेका उनले  त्यहाँ जेष्ठ नागरिकको लागि साहारा जेष्ठ नागरिक समाज स्थापना  समेत गरेका छन् । उनले  गाउँमा एम्बुलेन्स, मन्दिर तथा बाटो बनाउन सहयोग  गरेका छन् ।
 

विशेष