फोकटमा पाँच सुरक्षाकर्मी र गाडी सुविधा लिनेको सुविधा खोसियो
काठमाडौं । मुखमात्र चलाउने अर्थोक त्यति नचल्नेलाई राज्यका सुरक्षाकर्मी, सवारी साधन दिएर फजुल गर्नुभन्दा त्यस्तालाई सुविधाविहीन बनाउनुपर्ने आदेशसँगै एकजना बोलक्कड मान्यले एकघण्टे आदेशमा सरकारी सुरक्षा र सवारी सुविधा गुमाएका छन् ।
१७ गते संसदमा वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारका लागि सरकारले नैतिकताका आधारमा राजनीमा दिनुपर्ने भाषण ठोकेको भोलिपल्टै सर्लाहीबाट जितेका कांग्रेस सांसद अमरेशकुमार सिंहको साथमा रहेका पाँच सुरक्षाकर्मी र गृहबाटै लगिएको गाडी फिर्ता भएको हो । उनले त्यसदिन संसदको विशेष समयमा बोल्दै ‘सुशासन र समृद्धिको नारा दिने सरकार यति ठूलो भ्रष्टाचारमा मुछिएको छ, यसमा संयुक्त पार्लियामेन्ट्री कमिटी गठन गर्नुपर्छ र सरकारले नैतिकताको आधारमा राजीनमा दिनपर्छ’ भनेका थिए ।
उनीसँग नेपाल प्रहरीबाट तीन, सशस्त्रबाट दुई जना सुरक्षाकर्मी र गृहको एउटा गाडी थियो । गृहसचिव प्रेम राईले उनलाई सुरक्षा दिनपुर्ने तर्क के हो भनी प्रहरी महानीरिक्षक सर्वेन्द्र खनाल र सशस्त्रका शैलेन्द्र खनाललाई सोधेपछि सर्वेन्द्रले आफ्नो हेडक्वार्टरलाई ‘एक घण्टाभित्र त्योसँग भएको तीन जना केटा हेडक्वार्टरमा तान्नु । तानिएनन् भने तपाइँहरु कारवाहीमा पर्नुहोला’ भनेका थिए ।
यो समाचार जनआस्था साप्ताहिकबाट लिएका हौं ।