राजनीति

डा केसीसँग भएका सहमति पाखा लगाउँदै चिकित्सा शिक्षा बहुमतले पारित

डा केसीसँग भएका सहमति पाखा लगाउँदै चिकित्सा शिक्षा बहुमतले पारित

काठमाडौं । चिकित्सा शिक्षा अभियान्ता एवं वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. गोविन्द केसीसँग भएका केही सहमतिलाई पाखा लगाउँदै बुधबार बहप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएको छ । शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले डा केसीसँग भएका केही सहमतिलाई व्यवस्था गर्दै उक्त विधेयक बहुमतले पारित गरेको हो ।

 

समितिको सिंहदरबारमा बसेको बैठकमा समितिका अधिकांस सदस्यले विधेयकको समर्थन गरेका छन् भने केहीले परिमार्जनको माग गरेका छन् । १८ जना सांसद उपस्थित भएकोमा १४ जनाले विधेयकलाई समर्थन गरेका थिए भने चार जना सांसदले विधेयक परिमार्जनको माग गरेका थिए । उक्त विधेयकमा कांग्रेस सांसदहरूले असहमति जनाएका हुन् । बैठकमा कांग्रेस सांसदहरूले डा केसीका माग सम्बोधन गर्दै विधेयक पास गर्नुपर्ने अडान राखेका छन् ।

 

तर नेकपाका सांसद योगेश भट्टाराईले पारित भएको विधेयकमा केसीले भनेका सबै विषय समेटिएको दाबी गरे । बैठकमा उनले विधेयक पारित हुनुलाई केसीको जित भएको समेत बताए । तर कांग्रेसका सांसद गगनथापाले केसीका माग इमान्दारिताका साथ नआए पुनः समस्या निम्तन सक्ने चेतावनी दिए ।

 

डा. केसी आफूसँग भएका सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक नआए पुनः सत्याग्रह गर्ने चेतावनी दिएका छन् । सत्याग्रहका लागि उनी मंगलबार नै इलाम पुगेका छन् । आफ्ना माग विधेयकमा नसमेटिए इलामबाट आफ्नो १६औँ अनशन सुरु गर्ने उनले यसअघि नै चेतावनी दिएका थिए । यसअघि चिकित्सा शिक्षामा देखिएका बेथीतिको अन्त्यका लागि उनले १५औँ पटकसम्म अनशन बसिसकेका छन् ।

चिकित्सा शिक्षा विधेयक

विशेष