देश राजनीति

प्रधानमन्त्री भन्छन्, ‘सरकारको कामले संसार चकित छ’  

प्रधानमन्त्री भन्छन्, ‘सरकारको कामले संसार चकित छ’  

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक वर्षमा गरेका कार्यले संसार आश्चर्यचकित भएको दाबी गरेका छन् । उनले आफूले एक वर्षमा असाधारण कार्यहरू गरेको दाबी गरे । ओलीले एक वर्षमा गरेका कामहरूको विवरण विश्व मञ्चहरूमा राख्दा विश्वको ध्यान नेपालतर्फ गएको बताए । 

 

बिहीबार झापाको दमकमा प्रदेश १ स्तरीय ‘बाल महोत्सव’ उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म विश्वका ठूला मञ्चहरूमा गएको छु। राष्ट्रसंघको मञ्चमा गएको छु। डाभोसमा गएर नेपालमा भइरहेका कामहरूबारे जानकारी गराएको छु। हाम्रा काम देखेर संसार आश्चर्यचकित छ।’ उनले छोटो समयमा कैयौँ कानुनहरू बनाएको, सङ्घीय संरचनालाई पूर्णता दिएको, कर्मचारी समायोजन गरेको उल्लेख गरे ।

 

प्रधानमन्त्री ओलीले वर्तमान सरकार मुलुकलाई विभिन्न कोणबाट समृद्ध बनाउनेतिर अघि बढेकाले कसैको विरोधले फरक नपर्ने बताए। उनले सरकारको विरोध गर्नेहरूलाई विकासमा अघि बढ्न आग्रह गरे। उनले भने, ‘हामी मुलुक बनाउन अघि बढिरहेका छौँ। सबै मिलेर विकासमा अघि बढौँ। ‘सेन्टिमेन्ट’ मा होइन।’ उनले सरकारको विरोध गर्नेहरू आफै थाक्ने बताए। उनले मुलुकमा सन्तुलित र सरल तरिकाले स्थानीय, प्रदेश र केन्द्रीय सरकार तथा एउटा नयाँ व्यवस्थालाई स्थापित गरेको बताए।

 

‌ओलीले आफू नेतृत्वको सरकारले छिमेकीहरूसँगको हैसियत बराबरीको बनाएको दाबी पनि गरे। ‘हामीले छिमेकीहरूसँग हिजोको असमान अवस्थाबाट समान हैसियतको अवस्थामा पुर्‍याएका छौँ’ प्रधानमन्त्रीले भने । यो कान्तिपुर दैनिकबाट लिइएको हो । 

केपी शर्मा ओली दमक

विशेष