चीनलाई टार्गेट गरी ओलीलाई भीम रावलको यस्तो दनक?
धनगढी – पूर्व उपप्रधानमन्त्री तथा नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले चीनलाई टार्गेट गरी प्रधानमन्त्री केपी ओलीमाथि आक्रोश पोखेका छन्। उनले राजधानी वरिपरिको विकासले मात्रै देशको समग्र विकास नहुने स्पष्ट पार्दै चीनलाई टार्गेट गरी प्रधानमन्त्री केपी ओलीमाथि आक्रोश पोखेका हुन्।
चिनिया राष्ट्रपति सि चिनफीङसँग नेपालले गरेको २० बुँदे सम्झौतामा सुदूरपश्चिमका कुनै पनि ठूला योजना नपरेको भन्दै नेता रावलले नेकपाको प्रदेश कमिटिको बैठकलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। उनले चिनिया राष्ट्रपतिको भ्रमण अघि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमा आफूले बहुउद्देश्यीय पश्चिम सेती जलविद्युत आयोजना र दार्चुलाको तिंकरहुँदै तिब्बत जोड्ने नाका लगायका विषयमाआफूले कुरा राखेको बताए ।
'चीनसँग गरिएका सम्झौता स्वागतयोग्य छन, तर राजधानी वरिपरिको विकासले मात्रै समग्र विकास हुन्छ भन्ने होइन, राजधानीदेखि टाढाको विकासका लागि पनि सोच्नुपर्छ,' उनले भने । उनले आफूले प्रधानमन्त्रीलाई दिएको सुझावअनुसार के सहमतिमा परे रु के परेन भन्ने कुरा भने काठमाडौं गएर बुझ्ने बताए ।चीनसँग भएको सम्झौतामा सुदूरपश्चिम प्रदेशको विकासका लागि कोशेढुंगा मानिने यी कुनै परियोजना समेटिएका छैनन्।
पार्टी एकीकरण पछि नेकपाको दोस्रो बैठक धनगढीमा सुरु भएको हो । पार्टी अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटिका पदाधिकारी, सुदूरपश्चिमका मुख्यमन्त्रीसहित मन्त्रीहरुको सहभागिता छ।