ट्रम्प र पुटिनलाई नेपाल भ्रमण गराउने सरकारको तयारी : मन्त्री बास्कोटा
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चीनका राष्ट्रपतिपछि अब नेपालमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको भ्रमण गर्ने बताएका छन् ।
सीको भ्रमण सफल भएको दाबी गर्दै उनले अब सरकार अमेरिकी र सरियाली राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने तयारीमा रहेको बताए । सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले शक्ति राष्ट्रका राष्ट्रपतिहरूलाई नेपाल भ्रमण गराउने प्रयास जारी रहेको बताएका हुन् ।
मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद बैठकले सरकारी, सार्वजनिक गुठी, सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को छानबिन समितिको म्याद २८ मंसिरसम्म थप गरिएको बताए ।
त्यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको कार्यकारी अधिकृत सिफारिश गर्न गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको संयोजकत्वमा गठित सिफारिश समितिको म्याद पनि बैठकले थप गरेको छ ।