सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्तिबारे नेकपा–कांग्रेसबीच छलफल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच संक्रमणकालीन न्याय प्रक्रियालाई टुंग्याउन गठित दुई आयोगका पदाधिकारी सिफारिसबारे छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिसबारे छलफल भएको हो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेता थिए ।
छलफलपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता र प्रतिपक्षबीच सामान्य कुराकानी भएको जनाए । सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी चयनको बारेमा पनि सामान्य छलफल भएको उनको भनाइ छ ।
सात महिनाअघि सर्वोच्च अदालतका पूर्व प्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिले अझै पदाधिकारी सिफारिस गर्न सकेको छैन । सिफारिस समिति ६ महिना बनेपनि हालसम्म दुवै आयोगका सदस्य सिफारिस गर्न सकेको छैन ।
बेपत्ता छानबिन तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिका बारेमा पनि छलफल भएको तर निष्कर्षमा भने नपुगेको जनाइएको छ । सहमतिमा पदाधिकारी चयन गर्नुपर्ने भए पनि दलहरुबीच सहमति नहुँदा दुवै आयोग पदाधिकारी विहीन छन् ।