प्रधानमन्त्रीलाई टार्गेट गरी सरकारको कामप्रति देउवाको यस्तो प्रश्न
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई टार्गेट गरी सरकारको काम कारवाहीप्रति प्रश्न गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने बताए। बूढानीलकण्ठमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकमा उनले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने भन्दै यस्तो बताएको हो।
‘बैठकमै सभापतिज्यूले प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्नुभयो’, देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संवैधानिक परिषद्मा सहमतिबाटै पदाधिकारी नियुक्त गर्नुपर्छ। एकलौटी गर्ने भए परिषद्को औचित्य के ?’ संवैधानिक आयोगमा गरिने नियुक्तीलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले यस बारेमा सभापति देउवालाई अडान लिन सुझाएपछि देउवाले सहमति खोज्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
देउवाले संसदीय व्यवस्थामा संवैधानिक परिषद् बनाउने भनेकै प्रमुख प्रतिपक्षको सहभागीता गराउनु हो भन्ने अडान अगाडि सारेका छन्। । सँगै बैठकले अनौपचारिक छलफल गरी सहमति पश्चात मात्र औपचारिक बैठक राख्दा राम्रो हुने सल्लाह दिएको छ।
बैठकमा सभापति देउवाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा भएको छलफलका बारेमा समेत जानकारी गराएका छन्।