‘असंलग्नको मूल्यप्रति नेपाल सधै प्रतिबद्ध’: प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न राष्ट्रहरूको पहिलो सम्मेलनले तय गरेका विश्व शान्ति, न्याय र समानताका सूत्र एवं मूल्यहरूप्रति आजका दिनमा पनि प्रतिबद्ध हुनु आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसप्रति नेपाल प्रतिबद्ध छ । पारस्परिक अहस्तक्षेप, सहअस्तित्व, सार्वभौमसत्ता र स्वाधीनताको सम्मानजस्ता विषय अहिले पनि उत्तिकै सान्दर्भिक छन् ।” नेपाल टेलिभिजनसँग मङ्गलबार राति समसामयिक विषयमा कुरा गर्दै उहाँले विश्वमा अहिले पनि अशान्तिको खतरा रहेको चर्चा गर्दै शान्तिको पक्षमा क्रियाशील हुनु जरुरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले १८औँ शिखर सम्मेलनले असंलग्न आन्दोलनका आधारभूत सिद्धान्त र आजको आवश्यकतालाई सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले नेटो र वार्सा सङ्गठनमा विभक्त विश्व परिस्थितिमा तटस्थताका लागि असंलग्न आन्दोलन जन्मिएको चर्चा गर्दै विश्व आज व्यापारिक, आर्थिक, प्रविधिको प्रतिस्पर्धामा रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय जगतमा पनि सबै राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा हुनुपर्नेमा जोड दिनुभयो ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।
केपी शर्मा ओली