राजनीति

आलमलाई जोगाउने को-को ? प्रहरीले थाल्यो अनुसन्धान

आलमलाई जोगाउने को-को ? प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ।  मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ ।

राजपुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा चल्ने भएकाले उसलाई चाहिने प्राविधिकसँगै अन्य सहयोग भइरहेको उनको भनाइ छ । ‘यो घटना दबाउने जो कोही व्यक्ति उम्किन पाउँदैनन् । पीडितले न्याय पाउने गरी अनुसन्धान हुन्छ’, उनी भन्छन्, ‘रौतहट प्रहरीलाई आवश्यक समन्वय र सहयोग भइरहेको छ ।’

घटना अनुसन्धानमा भएका प्रगतिबारे डीआईजी कार्की र एसपी खत्रीसँग दैनिक सोधपुछ गरिरहेको उनी सुनाउँछन् । उनका अनुसार केन्द्रबाट घटना अनुसन्धानको सूक्ष्म सुपरिवेक्षण भइरहेको छ । 

प्रहरी मुख्यालयले घटना अनुसन्धान नगरी आलमलाई सहयोग पुर्याउने बहालवाला र पूर्वप्रहरी अधिकृतमाथि आवश्यक परे बयान लिन रौतहट प्रहरीलाई निर्देशन दिएको छ ।

 ‘यो वा त्यो नभनी तत्कालीन समयमा रौतहटमा बसेका प्रहरी अधिकृतलाई किन अनुसन्धान नगरेको भनेर सोधपुछ गर्न भनिएको छ’, मुख्यालयका एक उच्च अधिकारी भन्छन्, ‘सोधपुछ गर्न बोलाउँदा नमाने पक्राउ गरेरै लैजान निर्देशन भएको छ ।’ उनका अनुसार कसको दबाबमा तत्कालीन अपराध लुकाउने प्रयास गरियो भनेर सोधपुछ केन्द्रित हुनेछ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित छ। 

मोहम्मद अफताब आलम

विशेष