यसरी भयो टुथब्रसको पहिलो आविष्कार ? हेर्नुहोस
सन् १७८० मा इंग्ल्याण्डको जेलमा भएको घट्ना हो यो । 'विलियम एडिस' नाम गरेका व्यक्ति उपद्रो गरेको अभियोगमा जेल सजाय भोगिरहेका थिए । सबै कैदीहरुलाई झैं उसलाई पनि दाँत सफा गर्न कठिन भइरहेको थियो । उनीहरु कोही औंला त कोही रुखको सानो तथा नरम हाँगाले दाँत सफा गर्ने प्रयास गरिरहेका हुन्थे । दिन वित्दै थियो। एकदिन अनायास उसको मनमा के आयो कुन्नि, मासु खाएर फालिएका पातलो हाडमध्ये एउटा हाड छान्यो, हाडको अघिल्तिर सानासाना प्वाल बनायो, ती दुलोमा जनावरका कडा कडा रौं हाल्यो, बस के चाहियो र, संसारको पहिलो टुथब्रश तयार ।
विस्तारै विस्तारै जेलका अरु कैदीले पनि यो शैली अपनाउन थाले । कैदीले मात्र नभएर यस्तो नक्कल सिपाहीले पनि गर्न थाले । ख्यालख्यालमा गरेको कामले आविष्कारको रुप पाएपछि एडिस दंग परे । जेलबाट छुटेपछि उनले यही कामलाई निरन्तरता दिए । जेल पर्नुअघि छालाको काम गर्ने एडिसको व्यावसायिक चिनारी नै फेरियो । नाम, दामले खुबसंग पछ्यायो । टुथब्रस हाडबाट नभएर काठ र धातुबाट बनाउने प्रचलन शुरु भयो । जेलबाट शुरु भएको यो अभियान दुनियाभर नै फैलियो ।
हुन त टुथब्रस जस्तो चीजको खोजी १५ औं शताब्दीतिरै चिनियाँले गरिसकेका थिए । तर त्यो चीनमै सीमित रह्यो । यसअघि नै अरवी मुलुकमा दतिवनले दाँत सफा गर्ने चलन थियो । उनीहरु दतिवनका लागि ‘अरक’ जातको बनस्पति उपयोग गर्थे । हाम्रो समाजमा पनि निम, जामुन नामका वनस्पतिका नरम हाँगा दतिवनका रुपमा उपयोगको परम्परा प्राचीन कालदेखि नै चलेको पाइन्छ । ब्राम्हणहरुमा सूर्योदयको समय सूर्यतिर मुख पारेर दतिवन गर्नु धार्मिक कार्य मानिन्थ्यो । ऋषि पञ्चमीका दिन महिलाहरुले दतिवन लगाएर दाँत माझेर आफूलाई शुद्ध राख्ने परम्परा अहिले पनि धार्मिक विधिभित्र पर्दछ ।
१८ औं शताब्दीमा टुथब्रशको सेट नै बेचिन्थ्यो । एउटा सेटमा ५,६ वटा टुथब्रश हुन्थे । यिनीहरुमा जनावरको रौं यसरी लगाइन्थ्यो, जसरी जुत्ता टल्काउने ब्रसमा लगाइएको हुन्छ । प्लास्टिक र नाइलनको खोजीले टुथब्रशको व्यवसायमा क्रान्ति ल्याइदियो । नाइलन प्रयोग भएको ब्रशले सन् १९३८ अमेरिकी बजारमा प्रवेश पायो । अहिले अनगिन्ती रंग र स्टाईलका टुथब्रश बजारमा पाइन्छ । नरम खोज्नुस् या कडा । छोटो या मोटो हरेक उमेर समूहलाई बेग्लाबेग्लै साइजका ब्रश बजारमा छन् ।
बिजुलीबाट चल्ने ब्रश पनि आविष्कार भएको थियो । तर यो लोकप्रिय हुन सकेन ।
टुथब्रस