कांग्रेस केन्द्रीय समिति आज बस्दै, उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउने विषयमा केन्द्रित हुने कांग्रेस नेताहरुले जनाएका छन् ।
कांग्रेसले पार्टी विधान अनुसार संसदीय समिति गठन नगरेकाले बैठकले उम्मेदवार चयनको जिम्मेबारी पदाधिकारीलाई दिने सम्भावना रहेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा पनि पदाधिकारी चयनका विषयमा छलफल भएको थियो ।
प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।