अभिलेख

यस्तो छ जुत्ताको इतिहास

यस्तो छ जुत्ताको इतिहास

जुत्ताभन्दा खुट्टाको सुरक्षाको लागि छाला, सेन्थेटिक तथा कपडाद्वारा बनाइएको वस्तुलाई बुझिन्छ । त्यसो त आजकल सुन, हीरा जडित महँगा जुत्ता पनि पाइन्छन् । मानव सभ्यताको इतिहासमा जुत्ताभन्दा पहिले चप्पल लगाउने प्रचलन थियो । संसारमा सर्वप्रथम मिश्र, बेबिलोन र ग्रीकबासीहरुले छालाको चप्पल लगाउँथे । राममा चाहिँ सम्भ्रान्त परिवारका मानिसले अग्लाअग्ला डिजाइनका चप्पल प्रयोग गर्थे । राजाको झन् छुट्टै प्रकार सेण्डिल हुन्थ्यो । दरबारिया राजाको भन्दा थोरै फरक डिजाइनको चप्पल लगाउँथे । 

समयको परिवर्तनसंगै चप्पलको आकारप्रकारमा परिवर्तन हुँदै आयो  १५ औं शताब्दीतिर मानिसहरु लामो चुच्चो भएको जुत्ता लगाउँथे । त्यो पनि मानिस जति सम्पन्न छ, उसको मानक त्यही चुच्चो जुत्ता हुने गथ्र्यो । आफ्नो आर्थिक हैसियतभन्दा बढी चुच्चो जुत्ता लगायो भने कानुनी सजाय भोग्नुपथ्र्यो । सर्वाधिक लामो नोक भएको तीन फिटसम्मको जुत्ता पाइन्थ्यो । त्यस्ता जुत्ता धनी वर्गका लागि बनाइएका हुन्थे । त्यसखाले जुत्ता बढ्ता पोल्याण्डमा बन्थ्यो । त्यति लामो जुत्ता लगाउन अप्ठेरो पर्ने हुनाले नोकमा प्वाल बनाई डोरी बाँधिन्थ्यो । त्यो डोरी शरीरको कुनै अंगमा झुण्ड्याएर लगाइन्थ्यो ।

१५ औं शताब्दीको अन्त्यसंगै त्यस्तो प्रकारको जुत्ताको शौख हराउँदै गयो र चौडाइ फुकेको जुत्ताको फेसन आयो । त्यो पनि लगाउन अप्ठेरो हुनाले चौडाइलाई  ६ इन्चसम्म साँघुर्याइयो । त्यसप्रकारको जुत्ताको शोख पनि हराउँदै गयो । कालान्तरमा तलुवा अग्लो भएको जुत्ताको चलन आयो । जुत्ताको तलुवा डेढ ईन्चसम्म अग्लो काठको हुन्थ्यो । यस्तो जुत्ताले होचो व्यक्तिलार्य अग्लो बनाउन खुब सहायता गर्यो । त्यसो हुँदा यस्ता जुत्ता होचा व्यक्तिहरुले खुब लगाउन थाले । तर यो पनि खुट्टाको लागि त्यति सुविधाजनक ठहरिएन । त्यस्ता जुत्ताले झन् पीडा दिन थाल्यो । महिलालाई त उठ्न बस्न समेत दुईजनाको सहारा चाहिन थाल्यो । यतिसम्म कि जुत्ताकै कारण कतिपय महिलाको गर्भ समेत तुहियो । यस्तो भएपछि त्यस्ता जुत्ता लगाउन प्रतिबन्ध लगाइयो । 

१७ औं शताब्दीतिर फेरि अग्लो एडी भएको जुत्ताको फेसन आयो । फ्रान्सका राजा लुई चौधौंले यसको आरम्भ गरे । आफू होचो भएकाले ती राजाले त्यसप्रकारको जुत्ता खुब मन पराए । अन्य भारदारहरुले पनि सो जुत्ता लगाउन थाले । तर पछि त्यस्तो जुत्ता पुरुषले लगाउन छाडे । महिलाले पनि अहिलेसम्म लगाउँदै छन् । समयको प्रवाहसंगै जुत्ताको आकार प्रकारमा पनि फेरबदल हुन थाल्यो । सन् १८७० तिर युरोपमा पांग्रायुक्त जुत्ताको थालनी भयो । सो जुत्ता हालको स्केटजस्तै नभएपनि पांग्राको सहायताद्वारा हिँड्नु पथ्र्यो । पांग्राको उचाई घुँडासम्म हुने हुँदा जो कोहीले यो जुत्ता लगाएर हिँड्न सक्दैनथे । त्यसैले यो त्यति लोकप्रिय हुन सकेन । 

समयले कोल्टे फेरेपछि बल्ल तपाईं हामीले अहिले लगाएको जुत्ताको प्रचलन शुरु भयो । यसका लागिग पुमा, एडिडास, नाइक आदि कम्पनीहरुले ठूलो भूमिका खेलेका छन् । जुत्ताको प्रसंग आउँदा नेपोलियनकी पत्नी जोसेफिनलाई पनि छुटाउन मिल्दैन । किनकि संसारको सबैभन्दा बढी जुत्ता संग्रह गर्ने सौखिन महिलाहरुको रुपमा उनलाई लिइन्छ । जोसेफिन एक पटक प्रयोग गरेको जुत्ता फेरि अर्को पटक प्रयोग गर्दिनथिन । उनीसंग जुत्ताको गोदामै थियो । हेर्दै जाऔं, संसारमा अझै कस्ता कस्ता जुत्ता बन्लान ?
 

धनी जुत्ता

विशेष