प्रचण्डको कार्यकारी अध्यक्ष प्रयोगको परिक्षा
काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्षद्वयका लागि सचिवालय बैठकले बुधबार गरेको जिम्मेवारी बाँडफाँटको निर्णयले पार्टीभित्र दुई नेतालाई फरक भूमिका दिएको छ । पार्टी नेताहरूले यसपछि नेकपा नयाँ ढंगले अघि बढ्ने दाबी गरेका छन् ।
सचिवालयको निर्णयले दुई नेताको भूमिकामा भिन्नता नआउने विश्लेषकहरूको दाबी छ । राजनीतिशास्त्री प्रा. कृष्ण खनालले नेकपाको पछिल्लो सचिवालय बैठकको निर्णयलाई व्यक्तित्वहरूको व्यवस्थापनका रूपमा अथ्र्याए । ‘यो व्यक्तिको व्यवस्थापन हो, सामान्य रूपमा यो देखाइने ‘जिम्मेवारी’ बाँडफाँट मात्र हो,’ प्रा. खनालले भने, ‘उहाँहरूको भूमिकामा भने खासै भिन्नता आउँदैन ।’
बुधबारको बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच स्पष्ट कार्याधिकार तोकेको छ । यस निर्णयले अध्यक्ष ओली यस अवधिको प्रतिनिधिसभामा पूरा कार्यकाल प्रधानमन्त्री हुने बाटो खुलेको छ भने अर्का अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको स्पष्ट भूमिका पाएका छन् ।
पार्टी एकताअघि नै ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने भनी पाँचबुँदे लिखित सहमति भएको सार्वजनिक भएको थियो ।
यो समाचार आजको नया पत्रिका दैनिकमा प्रकाशित छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड'