विचित्र विश्व

जहाजमाथि चराको धावा

जहाजमाथि चराको धावा

मानिसले आकाशमा चराचुरुङ्गी उड्ने कलाबाट प्रभावित भएर हवाइजहाज बनायो । र आज उनीहरुको अधिकारमाथि हस्तक्षेप गरेर उनीहरुकै आकाशलाई सीमित पारिरहेको छ । आज नानाथरि आधुनिक एयरबस, फाइटर अनेकौं नामले उडाइने वायुयानले पंक्षीको स्वतन्त्र आकाश खोस्दै मात्र छैन, वायुप्रदुषण समेत बढाएको छ । यति मात्र होइन, हवाइ दुर्घटनामा परेर असंख्य पन्छी मरेका छन् । यी पन्छीसंगै अनगिन्ती वायुयान ध्वस्त भएका छन् । कयौं मानिसको ज्यान गएको छ । 

सन् १९६० तिर इस्टर्न एयरलाइन्सको ‘लाकहिड एलेक्ट्रा’ विमान संयुक्त राज्य अमेरिकाको बोस्टर्न विमानस्थलबाट उड्दा ‘स्टरलिङ’ नामक पन्छीको बथानसंग ठक्कर खाएर दुर्घटनाग्रस्त भयो । त्यसमा यात्रारत ७२ मध्ये ६२ को मृत्यु भयो । सन् १९६२ मा अमेरिकामै युनाइटेड एयरलाइन्सको एउटा विमान हाँसको बथानसंग ठोक्किएर ध्वस्त हुँदा त्यसमा यात्रारत १७ यात्रुको जीवन गुम्यो । 

अर्को सन्दर्भ पनि अमेरिकाकै हो । एकपटक लियरजेट नामको सानो वायुयान एटलान्टा विमानस्थलबाट उड्दा काउबर्ड नामक पन्छीको बथानसंग जुधेर दुर्घटना भयो । यो दुर्घटनाले ७ यात्रुको ज्यान लियो । यसबाहेक पनि त्यो दनदनी बलिरहेको जहाजले विमानस्थल बाहिरको एक घर, चार मोटर र एक मानिसको ज्यान लियो । यो दुर्घटनामा १५ वटा काउवर्ड पन्छी पनि खरानी भए । 

सन् १९६२ मा छिमेकी मुलुक भारतमा पनि यसखाले दुर्घटना भएको थियो । लाहोर नजिकै भारतीय डकोटा विमानसंग ठोक्किएर एउटा गिद्ध विमानको ककपिटभित्र सीसा फोरेर पस्यो । आत्तिएको गिद्धले पाइलटको अनुहारमाथि आक्रमण गर्यो । पाइलटले गम्भीर अवस्थामै विमान लाहोर विमानस्थलमा सकुशल अवतरण गरे । तर केही समयपछि नै उनको निधन भयो । 

हाम्रै राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमको जहाज पनि यस्तो दुर्घटनामा परेको छ । तर चालक दलका सदस्यको बुद्धिमतापूर्ण निर्णयले अपूरणीय क्षति भने व्यहोर्नु परेन । निगमको ७२७ विमान ११८ जना यात्रु लिएर भारतको पटना विमानस्थलमा अवतरण गर्न लाग्दा धावनमार्गमा एउटा गिद्धसंग ठक्कर खान पुग्यो । गिद्धको आक्रमणले ककपिटको सीसा फुट्यो । गिद्धले पाइलटको अनुहारमा चिथोर्न थाल्यो । घाइते हुँदाहुँदै पनि पाइलटले विमानको सन्तुलन बिग्रन दिएनन् । यात्रुसहित चालक दलका सबै सदस्यको ज्यान जोगियो । 

झट्ट सुन्दा आश्चर्य लाग्न सक्छ– सयौं मानिस बोकेर उडाउने त्यत्रो बडेमाको जहाज जाबो चरासंग ठोक्किएर ध्वस्त हुने ? तर गम्भीरतासाथ सोच्ने हो भने यो वास्तविकता त्यति उदेकलाग्दो छैन । कुरा सानो र ठूलोको नभई गति र प्रहारको हो । १५० देखि ५०० मिटरको उचाइमा ७२० किमि प्रतिघण्टा बेगमा उडिरहेको विमान कुनै एउटा परेवासंग ठोक्कियो भने १.४ टन अर्थात १४ सय केजी बराबरको धक्का पुग्छ । यही विमान फेरि कुनै सारससंग ठोक्कियो भने ३२ टन र यो भन्दा ठूलो हाँससंग ठोक्कियो भने ४८ टन बराबरको धक्का लाग्छ । 

यति शक्तिशाली धक्काका कारण विमानमा लगाइएका बलियो शिशा पनि चूर्णचूर्ण भएर फुट्छ र त्यसभित्र त्यो पन्छी पस्दछ । अनि पाइलट र यात्रुलाई आक्रमण गर्न पुग्दछ । कतिपय अवस्थामा त पाइलटले विमान सन्तुलित राख्न नसक्दा सयौं यात्रुको ज्यान समेत गएको छ । 

कहिलेकाहीँ यस्तो दुर्घटनामा विमानको वाह्ययन्त्र या नियन्त्रण उपकरण क्षतिग्रस्त भई विमान नियन्त्रणमा ठूलो कठिनाइ उत्पन्न हुन्छ । यस्तोमा पनि सबैभन्दा खतरापूर्ण अवस्था त्यतिबेला आइपर्छ, जतिबेला पन्छी सोझै इन्जिनमै ठोकिन पुग्छ र इन्जिन फेल हुन्छ । 

यस किसिमको दुर्घटना अधिकांश जेट विमानहरुमा हुने गर्दछ । यस्तो दुर्घटनामा पन्छी इन्जिनभित्र पस्दछ र इन्जिनभित्रका धारिला कलपूर्जामा पस्दछ । इन्जिनमा पेलिएको चराको शरीरले इन्जिनमा ठूलो गडबडी ल्याइदिन्छ । यसो भएपछि कि इन्जिन आफैं बन्द हुन्छ कि त पाइलटले बन्द गर्नुपर्ने बाध्यता हुन्छ ।

 विमान उड्न र उत्रन लाग्दा यस्तो भए त झन स्थिति भयावह हुन्छ । विमान नजिकै भएको पन्छीलाई विमानको शक्तिशाली पंखाको हावाले तान्दा यस्तो दुर्घटना हुन्छ । यसले करिब ६ सय प्रति केजीका दरले बाहिरको हावा भित्र तान्दछ । यदि विमान धावन मार्गमा छ र इन्जिन चालु अवस्थामा रहेको खण्डमा त्यो सजिलै इन्जिनभित्र तानिएर दुर्घटित हुनसक्छ । 

यसरी इन्जिनभित्र तानिएको पन्छीले पहिला इन्जिनका अग्रभागका पत्तीहरु भाँच्दछ । भाँचिएका पत्ती तीब्र गतिमा घुम्दा भाँचिएका पत्ती सग्लोमा थुप्रिन पुग्छन । एवम क्रमले यो बढ्दै जाँदा सबै पत्ती ध्वस्त हुन्छन् । चराचुरुङ्गीसंग जुध्ने समस्या वायुसेनाका विमानलाई त अझ बढी र खतरापूर्ण हुन्छ । 

सैनिक विमानको उडान अपेक्षाकृत अधिक तीब्र गति, कम उचाइ र बढी बाँगोटिंगो दिशामा हुन्छ । चराचुरुङ्गी पनि कम उचाइमा उड्ने हुँदा ठोक्किने सम्भावना अधिक हुन्छ । अर्को समस्या के हुन्छ भने यस्ता विमानका चालक एकजना हुने भएकाले पन्छीसंग ठक्कर खाएर घाइते हुँदा विमानलाई सन्तुलित तवरमा अवतरण गर्न कठिनाइ हुन्छ । 

यिनै समस्या विचार गरेर विश्व वायुसेवामै समस्या समाधानका अनेकौं उपाय अपनाइन्छ । पहिलो त विमानस्थल वरपरका क्षेत्र सफा राखिन्छ । छेउछाउका खाली ठाउँमा फोहोर मैला, जुठोपुरो फ्याँक्न रोक लगाइन्छ । यसबाट चारोको खोजीमा चराचुरुङ्गी त्यतातिर आउँदैनन् । यस्ता खानेकुरामा मासुका टुक्रा, सिनोजस्ता मांसीय पदार्थ फ्याल्न पूर्ण प्रतिबन्ध लगाइन्छ । यस अतिरिक्त विमानस्थलमा उम्रेका घाँसपात बढ्न दिइँदैन । छेउछाउमा पानी जम्ने खाल्डाखुल्डी छन भने पुर्न लगाइन्छ । यसो गरिँदा चराचुरुङ्गीको प्रिय खाद्य भ्यागुता, गँगटा, सानासाना माछा र सर्प रहन पाउँदैनन् । 

हामी कहाँ सुरक्षाका यी नियम त्यतिसारो पालन गरेको पाइँदैन । तर भारतीय विमान नियम १९३७ ले विमानस्थलको १० किलोमिटरभित्र पशुपन्छी काटमार, हाडखोर फाल्न प्रतिबन्ध लगाएको छ । त्यहाँ बर्षेनी मनाइने गणतन्त्र दिवसको अवसरमा सैनिक परेड हर्न जानेहरुलाई खानेकुरा लिएर जान पुरै निषेध गरिएको छ । 

यस समस्या समाधानका लागि अहिले राडार प्रणालीले धेरै सहजता थपेको छ । कतिपय अवस्थामा चराहरुको अवस्था हेरेर  विमानको रुट नै परिवर्तन गरिन्छ । विमानस्थल र विमानस्थल छेउछाउका घरमा परेवा पालनमा प्रतिबन्ध लगाइन्छ । विज्ञानले जति जति बेगमान विमान बनाइरहेको छ, त्यति नै सुरक्षा चुनौती थपिइरहेका छन् । दुर्घटना कम गराउन भएका प्रयाश प्रभावी देखिए पनि आश्वस्त हुने अवस्था आइसकेको छैन् । यसका लागि वायुसेवा क्षेत्रमा कार्यरत सबै, यात्रु र सर्वसाधारण नागरिकको सहकार्य आवश्यक छ । 
 

जहाज चराचुरुङ्गी

विशेष