राजनीति

'ओली नेतृत्वको सरकार सुदूरपश्चिम प्रदेशको विकासको लागि प्रतिबद्ध'

'ओली नेतृत्वको सरकार सुदूरपश्चिम प्रदेशको विकासको लागि प्रतिबद्ध'

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य प्रेमबहादुर आलेले केपी ओली नेतृत्वको सरकार सुदूरपश्चिम प्रदेशको विकास तथा संमृद्धिका लागि प्रतिबद्ध रहेको बताएका छन् । शनिबार द नेक्स्ट ड्रिम इन्टरटेनमेन्टले धनगढी खुल्लामञ्च रङ्गशालामा आयोजना गरेको सुदूरपश्चिम स्कूल डान्स स्टार प्रतियोगिता २०१९ मा डोटीबाट निर्वाचित सांसद आलेले यस खालका प्रतियोगिताले सुदूरपश्चिममा भएका प्रतिभाको उजागर गरी राष्ट्रियस्तरमा पहिचान बनाउन सहज हुनका साथै १० कक्षासम्म अध्ययनरत रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि उपयुक्त हुने बताए ।

सांसद आलेकै विशेष पहलमा गत फागुन ७ गते प्रधानमन्त्री केपी ओलीले सहजपुर–वीपीनगर– बागछेडा सडक कालोपत्रेको शिल्यान्यास गरेको थिए । विकासप्रेमी नेताको छवि बनाएका सांसद आलेको निर्वाचन क्षेत्रमा पर्ने यो ठूलो योजना हो । उनी जनताको काममा दिनरात नभनी अहोरात्र खटिने गरेका कारण नै डोटेली जनताबाट दोस्रोपटक निर्वाचित हुन सफल भएका थिए । यसको लागत २ अर्ब २० करोड छ । यसको धमाधम काम भइरहेको छ भने यसपालि समेत १ अर्ब ५० बजेट विनियोजन भएको छ । धनगढीमा पहिलो पटक भएको प्रतियोगिताले विद्यार्थीहरुमा थप हौसला बढाउने उल्लेख गर्दै यो सरकार दृढ इच्छाशक्तिसहित समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुरा गर्न अहोरात्र खटिरहेको दावी गरे । ‘सुदूरश्चिममा विकास र संमृद्धि ल्याउन सबैभन्दा छोटो राजमार्गको रुपमा रहेको उत्तर दक्षिण नाका जोड्ने धनगढी–खुटिया–दीपायल– बझाङ्–चैनपुर–उरै हुँदै ताक्लाकोट सडकलाई यो सरकारले उच्च प्राथमिकतामा राखेर सहायक राजमार्गको रुपमा स्तर वृद्धि गरेको छ’ आलेले भने । धनगढीदखि उरैसम्म जम्मा २९० किमी मात्र रहेको यस सडकको काम छिट्टै सुरु हुने सांसद आलेले बताए । खुटियादेखि वीपीनगरसम्म सुरुङमार्गको डिपीआर तयार भइसकेको बताउँदै उनले यो नेपालकै दोस्रो तथा सुदूरपश्चिमकै पहिलो सुरुङमार्ग हुने दावी गरे । 

हक्की स्वभाव र विकासप्रेमी नेताका रुपमा परिचित सांसद आलेले नेपाल सबै जातजातीको साझा फुलबारी भएको उल्लेख गर्दै आफु सदैव जातीय राज्यको विरुद्धमा रहेको प्रस्ट पारे । आफू अखण्ड सुदूरपश्चिमको पक्षमा निडर भएर लागेको कारणले नै यसलाई टुक्राउन चाहनेको मनसाय पूरा नभएको बताउँदै जनताको साथ सहयोगले नै आफूले यसको नेतृत्व गरेको दावी गरे । ‘विगतमा धनगढीमा ३२ दिनसम्म अखण्ड सुदूरपश्चिम आन्दोलन यहाँका जनताको साथ र समर्थनबाट मात्रै सम्भव भएको हो ’ आलेले भने । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना छिट्टै सुरु गर्न आफू अहोरात्र खटिरहेको उनले उल्लेख गर्दै उत्तर–दक्षिण नाका जोड्ने धनगढी–खुटिया–दीपायल– बझाङ्–चैनपुर–उरै हुँदै ताक्लाकोट सडक निर्माण भएपछि पश्चिम सेती आयोजना बनाउन धेरै सहज हुने बताए । यस सडकले सुदूरपश्चिमका कैलाली, डोटी, बाजुरा बझाङका वासिन्दाहरुलाई धेरै फाइदा हुने बताउँदै अझ स्पस्ट शब्दमा भन्नुपर्दा लाइफलाइन नै हुने बताए । नेकपाको सरकार कुरामा भन्दा कामको परिणाममा विश्वास गर्ने भएकाले हाल देशमा कानुनी राज र सुशासनको कायम भएको दावी गरे । गल्ती गरेर पद र शक्तिको आडमा उम्किने परिपाटी अन्त्य भएको ठोकुवा गरे । उनले देशमा काम गरेरै देखाउने प्रण गरेको यो सरकारले गल्ती गर्ने कसैलाई नछोड्ने बताए ।

उक्त प्रतियोगितामा नेप्लिज एकेडेमी मसुरिया कैलालीकी छात्रा करुणा सिंह प्रथम भइन् भने ज्ञानज्योति इंलिस बोर्डिङ स्कुल पहलमानपुर कैलालीकै छात्र आदित्य बगाले द्धितीय हुन सफल भए । टिके बोर्डिङ स्कुलकी छात्रा प्राप्ति भट्ट तेस्रो भइन् । प्रथम हुनले रु ३ लाख, द्धितीय र तृतीय हुनेले क्रमशः १ लाख पचास हजार र पचास हजार नगद पुरस्कार प्राप्त गरेका थिए । डान्स प्रतियोगिताको निर्णायकको भूमिकामा नायिका आँचल शर्मा रहेकी थिइन् भने अहिलेका चर्चित गायक प्रकाश सपुतले प्रस्तुती दिएका थिए भने प्रकाश छेडालले प्रतियोगिता संचालन गरेका थिए 

विशेष