कला साहित्य

टुँडिखेल वरपरका सालिकबारे रोचक जानकारी

टुँडिखेल वरपरका सालिकबारे रोचक जानकारी

राजधानी काठमाडौं शहरको बीचमा रहेको टुँडिखेल २०१७ साल अगाडि विशाल मैदानको रुपमा प्रख्यात थियो । रानीपोखरीको दक्षिणी रत्नपार्कदेखि हाल नेपाली सेनाको मुख्यालय रहेको स्थानसम्म फैलिएको थियो र त्यसपछिको भाग अर्थात अहिलेको दशरथ रंगशाला सानो टुँडिखेल मानिन्थ्यो । टुँडिखेल अहिलेको जस्तो टुक्रा टुक्रामा बाँडिएको थिएन । 

वरिपरि हरिया रुख र बिजुली बत्तीले घेरिएको टुँडिखेलको बीचमा ऐतिहासिक खरीको बोट थियो, जहाँबाट ठूला ठूला घोषणा जारी हुन्थे । यही खरी बोटको पश्चिमपट्टी अर्थात अहिलेको नेपाल वायुसेवा निगम अगाडि कतैबाट ल्याएर राखिएको ५, ६ वटा कोठा भएको एउटा रेलको डब्बा थियो । त्यतिबेला टुँडिखेलको माझबाट जताततै हिँडन पाइन्नथ्यो । तर भोटाहिटीको मोडदेखि सोझै भद्रकालीसम्म र बागबजार मोडदेखि महाँकालसम्म मान्छे हिँड्ने गरेको डोब भने प्रष्टै देखिन्थ्यो । 

रानीपोखरीको दक्षिणपट्टि विशाल हात्तीपाटी थियो । चिया चमेना गर्नेदेखि लिएर फोटो खिच्ने फोटोग्राफरको काम सम्म हुन्थ्यो । त्यतिबेला टुँडिखेल वरपर ६ वटा सालिक थिए, जुन यसप्रकार थिए । 

१. रानीपोखरीको पश्चिमोत्तर कुनामा अर्थात हालको राष्ट्रिय नाचघरको चौबाटोमा पश्चिमपट्टि फर्केको श्री ३ महाराज वीरशम्शेर जवराको सालिक राखिएको थियो । यो सालिक विक्रम संवत १९६४ साल चैत १५ गते तात्कालिन प्रधानमन्त्री चन्द्रशम्शेरले स्थापना गरेका थिए । 

२. भोटाहिटी मोडको चौबाटोमा पश्चिमतिर फर्केको दिवंगत राजा पृथ्वी वीरविक्रम शाहको थियो, जुन सालिक राजा त्रिभुवनले विक्रम संवत १९८६ मा राख्न लगाएका थिए । हाल यो सालिक भद्रकाली मुन्तिर सिंहदरबारतिर फर्काएर राखिएको छ । 

३. वीर अस्पताल अगाडिको मोडमा चन्द्रशम्शेरको सालिक रहेको थियो । यो सालिक १९८६ साल फगुन २७ गते तात्कालिन प्रधानमन्त्री भीमशम्शेरले उद्घाटन गरेका थिए । हुन त यो शालिक चन्द्रशम्शेरकै पालामा तयार पारिएको थियो । यसैबीच चन्द्रशम्शेरको निधन भएकाले राख्ने काम पछि सर्यो । भनिन्छ– यसभन्दा अगाडि पनि उनको सालिक जहाजबाट ल्याउँदा सो जहाज नै समुद्रमा डुबेर बेपत्ता भएको थियो ।

४. नयाँ सडकको ढोका अगाडिको दोबाटोमा धीरशम्शेर जबराको सालि स्थापना गरिएको थियो । यो सालिक तात्कालिन प्रधानमन्त्री एवं श्री ३ महाराज वीरशम्शेर जवराले १९५० फागुन १८ गते उद्घाटन गरेका थिए । 

५. धरहरा अगाडि चौबाटोमा स्थापना गरिएको सालिक श्री ३ महाराज एवं प्रधानमन्त्री जंगबहादुर राणाको थियो । पूर्व मोहडा भएपनि दक्षिण फर्केको यो सालिकको स्थापना १९४२ असारमा तात्कालिन प्रधानमन्त्री रणोद्दीप सिंहले गरेका थिए । 

६. रानीपोखरीको दक्षिण पूर्व कुनामा अर्था बागबजार जाने चौबाटोमा प्रधानमन्त्री रणोद्दीप सिंहको पूर्वतिर फर्केको घोडचढी सालिक राखिएको थियो । यो सालिक स्वयं प्रधानमन्त्री सिंह आफैंले राख्न लगाएका थिए । यी सालिकहरु विभिन्न स्थानमा राखिए पनि सडक विस्तार र भौतिक संरचना निर्माणका कारण हाल सेनाले आफ्नो हाताभित्र सारेको छ । 
 

टुँडिखेल सालिक

विशेष