अर्को वर्ष अन्त्यमा महाधिवेशन गर्ने नेकपाको तयारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्ने तयारी गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा आज बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने सदस्यहरुले २०७७ सालको अन्त्यमा पार्टीको महाधिवेशन गर्न सहमति जनाएका हुन् ।
महाधिवेशन गर्नका लागि केन्द्रिय समितिबाट पारित गराई त्यसको तयारीमा लाग्नुपर्ने धारणा पनि सदस्यहरुले राखेका थिए । आजको बैठकमा प्रतिवेदनमाथि योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य तथा वामदेव गौतमलगायत १२ जनाले धारणा राखेका थिए । बैठकमा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले भने प्रतिवेदनमाथि लिखित धारणा राखेका थिए ।
त्यस्तै बैठकमा अमेरिकाले अघि सारेको ‘मिलिनियम चालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका कार्यक्रम संसदबाट पारित गर्न नहुने माग उठेको छ । नेपाल सरकार र एमसीसीबीच ५ वर्षअघि भएको झन्डै ५५ अर्ब रुपैयाँको विकास साझेदार योजना संसदले पारित नगर्दा कार्यान्वयनमा आउन सकेको छैन ।
बैठकमा भीम रावल र देव गुरुङले त्यसलाई पारित गर्न नहुने धारणा राखेका थिए । त्यस्तै, सदस्यहरुले स्थायी समिति बैठक ढिलो बसेकोमा आलोचनात्मक दृष्टिकोण राखेका थिए ।
त्यस्तै, स्थायी समिति बैठकमा राष्ट्रियता, स्वाधीनताको विषय पनि जोडतोडका साथ उठेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक मंगलबार ११ बजे पुनः बस्ने छ । बैठक आइतबारबाट सुरु भएको हो ।