राजनीति

पौडेल र सिटौला नगएपछि कांग्रेस बैठक शुक्रबारसम्म स्थगित

पौडेल र सिटौला नगएपछि कांग्रेस बैठक शुक्रबारसम्म स्थगित

सानेपा । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फेरी स्थगित गरिएको छ । अर्को बैठक पुस ४ गते बस्ने गरी स्थगित गरिएको हो ।

बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको भनिएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो ।

पार्टीको महाधिवेशन, कार्यकाल थप, भ्रातृ संस्थाको नेतृत्व चयन लगायतका विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुरा नमिल्दा पटक/पटक बैठक स्थगित गरिँदै आएको छ ।

सभापति पक्षले जबरजस्ती पेलर जान खोजेको भन्दै पौडेल पक्षले आइतबारको बैठक बहिष्कार गरेपछि यसबीचमा सहमतिको लागि पहल भइरहे पनि कुनै टुंगोमा नपुग्दा बुधबारको बैठक पनि स्थगित गरिएको हो ।

उपसभापति बिमलेन्द्र निधि र नेता प्रकाशमान सिंह नेतृत्वको वार्ता टोलीबीच छलफल भइरहेपनि सहमति बनेको छैन । पार्टीमा देखिएको विवाद समाधानका लागि पहल भइरहेकाले ४ गतेसम्मका लागि बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

१४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय समिति बैठकमा नजाने अडान राख्दै बरिष्ठ नेता पौडेल पक्षले बारम्बार बैठक बहिष्कार गर्दै आएको छ ।

पौडेल पक्षको अनुपस्थितिमै गत बिहीबार सभापति देउवाले २८ विभाग बढाएर ४१ बनाउनेलगायतका एजेन्डा केन्द्रीय समितिमा पेश गरेका छन् ।

विशेष