भाषणको शासन
थोमस एल्वा एडिसन कयौं पटकको प्रयासपछि बल्ब बनाउन सफल भए । त्यसपछि उनले पियनको काम गर्ने सहयोगीलाई बोलाएर बल्ब परीक्षणका लागि अर् हाए । तर उनले पहिलो पटक बल्ब समाएका कारण अत्तालिएर बल्ब भूइँमा खसाए । दुई दिनपछि एडिसनले बल्ब परीक्षणका लागि फेरि बैठक डाके । उनले पहिलेका सहयोगीलाई बोलाएर बल्ब हातमा लिन भने । अरु स्टाफ एकै स्वरमा कराए– उसले अस्ति पनि बल्ब फुटाएको हो । अहिले पनि फुटाउन सक्छ । किन दिनुभएको फेरि उसैलाई ?’
एडिसनले जवाफ दिए– ‘अस्ति फुटेको बल्ब बनाउन मलाई एक दिन लाग्यो । यो बल्ब फुट्यो भने यसलाई फेरि बनाउन एकदिन लाग्नेछ । त्यो म बनाउन सक्छु । आफ्नो हातबाट बल्ब फुटेका कारण यो केटोले गल्तीको पश्चाताप गरिरह्यो भने उसले जिन्दगीभर आफ्नो आत्मविश्वास गुमाउने छ र डरमा बाँचिरहने छ । गल्ती गरेपछि जब व्यक्तिले त्यो गल्ती सुधार्नको लागि त्यही काम फेरि गर्दैन, ऊ पश्चातापमा बाँच्छ, जुुन उसको जिन्दगीका लागि खतरनाक हुन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकारको जिम्मेवारी एडिसनको मनोविज्ञानसंग मिल्दोजुल्दो छ । त्यो बकस पासमा अधिकार कम, निगाहाको मात्रा धेरै छ । प्रचण्डको चिडचिडाहटले भन्छ– उनका लागि पार्टी एकता भँगेराको शिकार जस्तै भएको छ । भँगेरा मार्न जति सजिलो हुन्छ, भुत्ल्याउन उति नै कठिन । सम्बन्ध जतिसुकै खराब भएपनि त्यसलाई तोड्ने कोशिस प्रचण्डको कोर्टबाट अबका दिनमा नहुने निश्चित छ । किनकी पानी जतिसुकै धमिलो भएपनि त्यसले तिर्खा त मेट्दैन तर आगो निभाउन काम लाग्छ भन्ने सत्य उनले गिरिजाप्रसाद कोइरालासंगको दोस्तीबाट घाँटीघाँटीसम्म सिकेका छन् ।
गिरिजाप्रसादले राजा ज्ञानेन्द्रसंग प्रतिशोध साँध्न ‘प्रचण्ड’ अस्त्र उपयोग गरे । कोइराला नेपाली राजनीतिको ‘डिलर’ भएको बुझेका प्रचण्डले भक्कु राजनीतिक फाइदा उठाए । यो सम्बन्ध व्यावसायिकताको अंश थोरै, व्यापारिक ज्यादा थियो । चुनाव जितेपछि ‘भाले’ भएका प्रचण्डले गिरिजाप्रसादलाई बाल नदिनु पछि यही स्वार्थले काम गरेको थियो । समकालीन राजनीतिमा प्रचण्ड यस्ता चतुर राजनीतिक व्यापारी हुन, जो एमाले र कांग्रेस छुट्टिने गौंडोमा बसेर आफ्नो गोरखधन्दा आनन्दसंग चलाउन सफल छन् ।
शान्तिप्रक्रियामा माओवादीलाई आफ्नै पार्टी बराबरको हैसियत दिएर संसद भित्र्याउँदा एमाले नेताहरु गिरिजाप्रसाद कोइरालासंग आगो भएका थिए । प्रचण्डलाई पुल्पुल्याएर शिरमा पुर्याएको उनीहरुको आरोप थियो । चित र पोट जता पनि दाउ हान्न सिपालु प्रचण्डले गिरिजाप्रसादसंग आर्जित विश्वासको चेक देखाएर शेरबहादुर देउवामार्फत छोरी रेणुलाई भरतपुर महानगरको मेयर बनाए । कांग्रेसीजनका लागि माओवादीसंगको त्यो सहकार्य अहिले पनि हँसियाको विहेमा खुर्पाको गीत गाएजस्तै बिर्सनयोग्य सपना भएको छ । आफू बोकिएर दुई पटक प्रधानमन्त्री, छोरीलाई देउवाको काँधमा बोकाएर मेयर बनाएका प्रचण्डले दुई वर्ष नवित्दै बुहारीको भविष्य केपी ओलीको पोल्टामा हालिदिए । ओलीका लागि बुहारीको बैतरणी घाँटीमा अड्किएको छुचुन्द्रो सावित भएको छ ।
गुरु द्रोणाचार्यले आफ्नो छोरो अश्वत्थामालाई उत्कृष्ट बनाउन ठूलो घाँटी भएको घडा दिएका थिए । अरु शिष्यले साँघुरो घाँटी भएको घडा पाएका थिए । नदीबाट जसले छिटो पानी भरेर लिएर आउँथ्यो, उही उत्कृष्ट ठहरिन्थ्यो । केपी ओलीले मेलम्चीघडालाई त्यस्तै सुविधाजनक बनाइ दिए । समयले एकदिन ओलीलाई प्रश्न गर्नेछ– ‘दियो हावाका कारण निभ्यो भने त हावालाई दोष दिनुहोला, तेल सकिएर निभ्यो भने कसलाई कसलाई दोष दिनुहुन्छ, महाशय ?’ त्यसबेला प्रश्नको उत्तर नभएर पश्चातापका चाङ मात्र बाँकी रहने छन् । यो कलियुग हो, आफूलाई राज्य ठान्नुअघि दशपटक नसोच्ने हो भने त्यो वाण आत्मघाती भएर आफैंतिर फर्कन धेरै समय कुर्नै पर्दैन । कलियुगमा हुने ज्यादतीबारे पाँच हजार वर्षअघि लेखिएको गीताग्रन्थले उतिबेलै खबरदारी गरेको छ ।
लिङ्ग एवाश्रमख्यातौ अन्योन्यापत्ति कारणम् ।
अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः ।।
वित्तमेव कलौ नृणां जन्माचारगुणोदयः ।
धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ।।
जसको तात्पर्य हो– ‘जो मानिस घुस दिन या धन खर्च गर्न असमर्थ हुन्छ, उसले अदालतबाट न्याय पाउन सक्ने छैन । जो व्यक्ति बहुत चलाख तथा स्वार्थी हुन्छ उ यो युगमा निकै विद्वान मानिन्छ । कलयुगमा जुन व्यक्तिसँग जति धन हुनेछ उतिनै गुणी मानिने छ । र कानुन, न्याय केवल शक्तिका आधारमा लागू गरिने छ ।’
आखिर व्यक्ति विकासमा पनि यो सिद्धान्त लागू हुन्छ नै । त्यसैले गगन थापा पुस्ताले पनि प्रचण्डका नातिको भविष्य निर्माणका लागि काँध तयार पारेर राखे हुन्छ । एउटै घटनामा पनि मान्छेले नाफा घाटा हेरेर फरक फरक निर्णय गर्छ । जस्तो चियामा झिंगा डुबे चिया मिल्काउँछ । घिउमा झिंगा परे झिंगा मिल्काउँछ । कुकुरसंग तुलना गरे झगडा गर्न तम्सन्छ, सिंह भन्यो भने मख्ख पर्छ ।
स्वामीनाथ पाण्डेले ‘विधवा’ शीर्षकमा हिन्दी भाषामा तीन पंक्तिको उपन्यास लेखेका छन् । उपन्यास यस्तो छ– ‘एकजना विधवा आमाका दुई छोरा एकजना तल्लो र एकजना माथिल्लो तलामा बस्छन् । प्रत्येक महिना पहिलो १५ दिन एउटा छोराकोमा र पछिल्लो १५ दिन अर्को छोराकोमा खाना खान्छिन् । तर, दुर्भाग्य जुन जुन महिना ३१ को हुन्छ, त्यो महिना एकदिन त्यो आमाले उपबास बस्नुपर्छ ।’
नेताहरुको हाकिम हुने प्रतिस्पर्धाका कारण नेपाल कम्युनिष्ट पार्टीका उम्दा कार्यकर्ताको दैनिकी ठ्याक्कै तिनै महिलाको जस्तै छ । बालुवाटारको प्रताप खुमलटार सर्यो भन्ने सुन्नेवित्तिक्कै प्रचण्ड निवास हानिएका भक्तहरु फेरि प्वाँख काटिएको सुन्नासाथ गन्तव्य फेर्न बाध्य छन् । राजनीतिमा हाकिम प्रवृत्ति कति घातक हुन्छ भने रोमानियाका कम्युनिष्ट तानाशाह निकोलस चाउचेस्कु किटाणुको संक्रमणबाट बच्न दिनमा तीस पटक अल्कोहलले हात धुन्थे । अरु मानिससंग हात मिलाउँदा पञ्जा लगाउँथे । उनी होचा थिए, तर पत्रिकामा फोटो छापिँदा अरुभन्दा अग्लो पारेर छाप्नु पथ्र्यो । यो अन्याय उनैका समर्थकलाई धेरै समय मञ्जुर भएन । आखिर समर्थकले नै सडकमा ल्याएर पत्नीसहित घिसारेर मारे । त्यसैले त नेता बेलुनजस्तो नभएर गाडीको टायरजस्तो हुनुपर्छ ।
नेता सत्तामा पुग्दा लोकतन्त्र हाँस्ने, सडकमा पुगेपछि लोकतन्त्रमा ग्रहण लाग्ने मुलुक कुन हो ? क्रान्ति कहिल्यै नसकिने देश कुन हो ? जनताको रासनभन्दा नेताको भाषण विक्ने तन्त्र कुन देशमा छ ? मतदाताभन्दा नेता सस्तो भएको अनौठो राज्य कुन हो ? राजनीतिले सेवा नभएर दलाली र जागिरको मर्यादा कुन देशमा पाएको छ ? गन्तव्यमा पुग्न एम्बुलेन्स भन्दा शब बाहनलाई हतारो हुने देश कुन हो ? लोकसेवाको पाठ्यक्रम परिवर्तन गरेर यी प्रश्न बनाइएको खण्डमा परीक्षार्थीले सग्लो उत्तर दिनेछन्– नेपाल ।
आफूले गरेको त्याग र संघर्ष विरुद्ध डेढ दशकमै प्रतिक्रान्तिका लागि जनता उचाल्ने घृणित खेलले राजनीतिलाई सामान्य शिष्टताभन्दा पनि रसातलमा जाकेको छ । यही सोच झाँगिदा सग्लो देश समृद्ध बनाउने भन्दा पनि केक बनाएर भाग खाने प्रतिस्पर्धा तीब्र बनेको छ । मन्त्रीहरु देशका नभएर क्षेत्रपालजस्ता भएका छन् । पूर्वी बोर्डर झापाबाट हिँडेको रात्रीबस एकरात छिचोलेपछि पश्चिमी किल्ला कन्चनपुर पुग्छ । यत्रो देशभित्र खोजिने शासकीय अधिकारको औचित्य के होला ?
भारतका लोकप्रिय नेता चौधरी चरणसिंहले सत्तामा आएलगत्तै अनियमित काममा संलग्न हजारौं सरकारी लेखापाललाई पदमुक्त गरे । खोइ, उनको राजनीतिक लोकप्रियतामा कहिल्यै कमी आएन । विहारमै बसेर उनी सम्पूर्ण भारतको शासन चलाउँथे । राम्रो काम गर्न माक्र्सवाद, लेनिनवाद, माओवाद, गान्धीवाद, समाजवाद केही पढ्नु पर्दैन, बस एउटा कमिलालाई हेरे पुग्छ– जसले आफूभन्दा दसौं गुना ठूलो वस्तु मेहनतकासाथ बोक्छ । त्यही अपजसी मूसा जसले समुद्रपारीबाट ल्याएर पृथ्वीमा अन्नको चिनारी गराएको विश्वास गरिन्छ ।
अझ राज्य त त्यो दुधालु गाई हो, जसको स्याहार चाकर गरेमा सवैलाई अमृत बाँड्छ । स्याहार नगर्ने उही लाम्टामा झुत्ती खेल्ने हो भने अहिलेकै दृश्य काफी छँदैछ । राज्यलाई खल्तीको कागज ठान्दा यस्तो परिस्थिति आएको हो भन्नेमा सन्देह छैन । राज्यका सारथीहरुले गर्ने सामान्य गल्तीको परिणाम कति पुस्ताले झेल्नुपर्छ सहजै आंकलन गर्न सकिन्छ । जसले आफूले आफैंलाईलाई शासन गर्न सक्दैन, त्यसले गरेको शासन गलत हुन्छ । एउटा अपठित मानिसले गर्ने काम जस्तैः घाँस काट्न, गाई दुहुन, हलो जोत्न पनि सीप चाहिन्छ । सवैभन्दा सजिलो काम ढिंडो, रोटो र खोले फाँडो खाने पनि आफ्नै तरिका छ । ढिंडो चपाएर निल्यो भने निल्नेको इज्जत स्वाहा हुन्छ ।
अब प्रश्न उठ्छ– यी सामान्य विषयमा त सीपको दरकार पर्छ भने राज्य चलाउनेहरु चाहिँ के जति अयोग्य भए पनि हुन्छ ? राजनीति गर्नेले समाज बुझ्नु पर्दैन ? गाउँमा बोलिने गानोगोला र शहरमा बोलिने ग्यास्टिकको भेद कुनै डाक्टरले अलग अलग खुट्याएर उपचार गर् यो भने के हुन्छ ? समूल समाजकै डाक्टर मानिने राजनीतिज्ञहरुले पनि यस्ता घटनाबाट सबक सिक्न जरुरी छ । नत्र हेक्का राखे हुन्छ– लक्ष्यविनाको राजनीति र ठेगानारहित चिट्ठीको खामले गन्तव्य समाउँदैन ।