सरकारको विभेदमा परेको बाजुरालाई प्रदेश सरकारको पनि उपेक्षा (भिडियोसहित)
कविराज पण्डित नेपाली कांग्रेस बाजुरा जिल्लाका सभापति हुन् । बाजुराको सामाजिक, आर्थिक, धार्मिक तथा राजनीतिक विकासमा क्रियाशिल पण्डित बाजुरालाई राज्यले नै पछि पारेको तर्क गर्छन् । आम मानिसले बाजुरा मानव विकास सूचकांकमा पछि परेको भनेपनि वास्तवमा राज्यको विभेदकारी नीतिका कारण बाजुराको त्यो अवस्था भएको उनको भनाइ छ ।
विगतका कुनैपनि सरकारले बाजुराको समग्र विकासका लागि यथोचित बजेट छुट्याएनन् । बिभिन्न राजनीतिक दलका नेताहरुको केन्द्रसम्म पहुँच भएपनि जिल्लाको लागि खासै केही गर्न नसकेको उनको अनुभव छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले पनि बाजुरा र त्यहाँका वासिन्दाका लागि खासै उल्लेख्य योजना ल्याउन नसकेको उनको आरोप छ ।
सभापति पण्डित भन्छन्, ‘ बाजुरा पहिला जस्तो अविकसित छैन । बाजुराका बारेमा गलत प्रचार भैरहेको छ । अहिले बाजुरा जिल्ला सदरमुकाममा पिच रोड छ । बिभिन्न ९ पालिकामा कच्ची सडक पुगेको छ । जिल्लामा विमानस्थल छ, राम्रोसंग चलिरहेको छ । जिल्लिका ६९ वटै वडामा प्राथमिक स्वास्थ्य केन्द्र छ । विद्यालयहरु छन् । ’
बाजुरामा उर्वर भूमी छ । गहु, मकै, जौ, कोदो, आलु, मुला राम्रो उत्पादन हुन्छ । नहुने भनेको चामल मात्र हो । जिल्लामा चामलको भने अभाव छ । बाजुरामा भोकमरी होइन चामलमरी चाहिं छ ।
जिल्लाको मुख्य समस्या भनेको खेती गर्ने मान्छे छैन । जिल्लाका युवाहरु रोजगारीको सिलसिलामा भारत र खाडी मुलुकतर्फ हिंडेपछि खेतीपातीको समस्या भैरहेको छ । जिल्लामा रोजगारीका अवसर सृजना गर्न केन्द्र र प्रदेश सरकारले ध्यान दिनुपर्छ ।
नेता पण्डित आफनो जिल्ला जस्तै मुलुकको अवस्था पनि उस्तै देख्छन् । राम्रो भएर पनि राम्रो बनाउन नसकेको । अझ मुलुकमा वामपन्थी सरकारपछि आर्थिक र विकास गतिविधि ठप्प भएको उनको दावी छ । भन्ने बेला विकास र समृद्धि भन्ने तर काम चाहिं भ्रष्टाचार मात्र गर्ने काम नेकपा सरकारले गरिरहेको उनी बताउँछन् ।
पण्डितका अनुसार कांग्रेसमा सभापति शेरबहादुर देउवालाई असहयोग भैरहेको छ । देउवाले सबैलाई मिलाएर लैजान खोजेकाले विभाग गठन, भ्रातृ संगठनको पूर्णता लगायतका काममा ढिलाइ भएको हो । यो कुरालाई अन्य नेताहरुले असक्षम भनी प्रचार गर्नु कांग्रेसलाई नै कमजोर बनाउनु हो ।
‘देउवा असफल भएको भए यहाँसम्म कसरी आइपुग्थे ? रणनीतिकरुपमा कम्युनिष्ट पार्टी भन्दा केही कमजोर देखिएपनि संसार चल्ने भनेको लोकतन्त्रबाट हो । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आगामी चुनाव कांग्रेसले आनन्दले जित्नेमा शंका छैन । ’ पण्डितको भनाइ छ ।