राजनीति

कांग्रेसभित्रको किचलो कायमै

कांग्रेसभित्रको किचलो कायमै

काठमाडौँ। कांग्रेसको आन्तरिक विवाद टुंग्याउने प्रयास असफल भएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आआफ्नो अडानमा रहेपछि दुई सातादेखि जारी वार्ताले सार्थकता पाउन नसकेको हो।

पौडेल समूहको सोमबार बसेको बैठकले विधानबाहिर गएर सहमति नगर्न वार्ता समितिलाई निर्देशन दिएको छ। महामन्त्री डा. शशांक कोइराला निवासमा बसेको बैठकले संस्थापन पक्षसँग वार्ताका लागि गठन गरेको कार्यदलका सदस्यलाई विधानभित्र रहेर सहमति खोज्न भनेको हो।

‘विभाग गठनदेखि भ्रातृसंस्थाका विषयमा छलफल भयो। महाधिवेशन सुनिश्चित गर्ने गरी कार्यतालिका सार्वजनिक गर्नुपर्छ,’ कार्यदल सदस्य हृदयराम थानीले भने, ‘पार्टी विधानसम्मत तरिकाले अगाडि बढ्नुपर्छ। नेता पौडेलले पार्टीभित्रका सबै समस्याको समाधान विधानमै रहेर खोज्नुस् भन्नुभएको छ।’

महाधिवेशन कार्यतालिका सार्वजनिक, नेवि संघ गठन, विभागको पूर्णता र नेपाल तरुण दलको समयावधि ६ महिना थप गर्ने विषयमा विवाद छ। महाधिवेशन कार्यतालिका सार्वजनिक गर्नुपर्ने विषयलाई केन्द्रीय समिति बैठकमा प्रमुख एजेन्डाका रूपमा पेस गर्नुपर्ने माग पौडेल समूहको छ।

पौडेल समूहले महाधिवेशनको एजेन्डा नल्याएको भन्दै केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ। पछिल्लो समय भने प्याकेजमै सहमति खोज्नुपर्ने अडान पौडेल पक्षले राखेको छ।

यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन।  

नेपाली काँग्रेस

विशेष