२१ जिल्लाको इन्टरनेट सेवा बन्द
नयाँदिल्ली । भारत उत्तर प्रदेश सरकारले शुक्रबार हुने जुमेको नमाजलाई लिएर २१ जिल्लाको इन्टरनेट सेवा बन्द गरेको छ । उत्तर प्रदेश पुलिसका डीजीपी ओपी सिंहले उत्तर प्रदेशको ७५ जिल्लामध्ये २१ वटा जिल्लामा शुक्रबार इन्टरनेट सेवा बन्द हुने जानकारी दिए ।
उनले भने, ‘राज्यमा कानुनी व्यवस्था पूरै नियन्त्रणमा छ, सुरक्षाबलको विभिन्न टिम जुटेको छ । हामीले २१ वटा जिल्लामा इन्टरनेट सेवा बन्द गरेका छौँ, स्थिति सामान्य हुँदै गएपछि इन्टरनेटमाथिको प्रतिबन्ध हटाइने छ ।’
नागरिकता संशोधन कानुनको विरोधमा सबैभन्दा हिंस्रक आन्दोलन उत्तर प्रदेशमा देखिएको थियो । प्रदर्शनको क्रममा उत्तर प्रदेशमा प्रदर्शनकारीको ज्यान पनि गएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार गएको हप्ता प्रहरी र प्रदशर्नकारीबीच भएको झडपमा ज्यान गुमाउने १६ जनामध्ये १४ जनाको गोली लागेर मृत्यु भएको हो । एक वरिष्ठ प्रहरी अधिकारीले यसबारेमा अखबारसँग भनेका थिए ।
प्रहरीले भने आफूहरुले प्लास्टिक र रबरको गोलीबाहेका अरुको प्रयोग नगरेको बताउँदै आएको छ । समाचार एजेन्सी एएनआईले उत्तर प्रदेशका एडीजी (कानुन व्यवस्था) पीवी रामा शास्त्रीको भनाइलाई उद्धृत गर्दै भनेको छ, ‘हामीले राज्यको अलग अलग जिल्लामा सुरक्षकर्मी तैनाथ गरेका छौँ र मानिसहरुसँग कुराकानी गरिरहेका छौँ ।’